६५ वर्षीया महिलाले १४ महिनामा ८ बच्चा जन्माइन् !

  हिमाल समाचार  90 पटक हेरिएको

मानिसलाई बच्चा जन्माउनका लागि ९ महिनासम्म गर्भमा बच्चा राख्नुपर्दछ । तर भारतको बिहारमा चाहिँ एकजना महिलाले १४ महिनामा ८ वटा ‘बच्चा जन्माएकी’ छिन् ।

त्यस्तै बिहारमै अर्की एक महिला ९ महिनामा ५ छोरीको आमा बनेकी छिन् ।

१४ महिनामा ८ बच्चा जन्माउनु र ९ महिनामा ५ बच्चा जन्माउनु सायद असम्भव कुरा हो । तर छिमेकी मुलुक भारतका दुई महिलाले त्यसलाई सम्भव तुल्याइदिए, त्यो पनि सरकारी पुरस्कार लिनका लागि ।

वास्तवमा छोरी जन्माउने महिलाहरुले प्राप्त गर्ने प्रोत्साहन रकम प्राप्त गर्ने लोभमा ती महिलाहरुले आफूहरुले त्यसरी अस्वभाविक रुपमा बच्चा जन्माएको दाबी पेस गरेका हुन् ।

भारतको बिहारस्थित राष्ट्रिय स्वास्थ्य मिसनको प्रावधान अनुसार छोरी जन्माउने महिलाहरुलाई राज्यको स्वास्थ्य विभागले १४ सय भारु प्रोत्साहन रकम प्रदान गर्ने गर्दछ ।

सोहीअनुसार बिहारको मुजफ्फरपुरस्थित मुसहरी ब्लकमा बस्ने ६५ वर्षकी लिलादेवी नामकी महिलाले पछिल्लो १४ महिनामा ८ वटी छोरी जन्माएको ‘प्रमाण’ पेस गरेर प्रोत्साहन पुरस्कार प्राप्त गरिन् ।

त्यस्तै सोनिया देवी नामकी अर्की महिलाले पछिल्लो ९ महिनामा ५ छोरी जन्माएको भनेर रकम प्राप्त गरिन् । तर विडम्बना ती दुवै महिलाले यथार्थमा यो अवधिमा बच्चा जन्माएकै थिएनन् र केवल कागजमा मात्र आमा बनेका थिए ।

पुरस्कार रकम प्राप्त गर्नका लागि महिलाहरुले अस्वभाविकरुपमा गलत तथ्यांक पेस गरेको खुलासा भएसँगै मुजफ्फरपुरका जिल्लाधिकारीले जाँचका लागि एक उच्चस्तरीय समिति गठन गरे ।

प्रथम दृष्टिमै ती दुई महिलाले अनियमितता गरेको देखिएको जिल्लाधिकारीको भनाइ छ । यसमा सरकारी अधिकारीहरु पनि संलग्न हुनसक्ने बताइएको छ ।

एजेन्सीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार