खोटाङ– पर्यटकीय ११ गन्तव्यमा छनौट खोटाङको बगरेभन्ज्याङमा निर्माणाधिन अवस्थामा छ, पेन टावर र रुरु ताल । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेर्पा, पोथका र खार्मीको सिमाना बगरेभन्ज्याङमा ७२ लाखमा पेनटावर निर्माण भइरहेको छ । जस्को काम ८० प्रतिशत सकिएको दाबी छ ।
पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले पेन आकारको टावर निर्माण गरेको हो भने टावर निर्माणपछि आन्तरिक तथा बाह्रय पर्यटक बढ्ने आशा राखिएको छ । जस्ले स्थानीय सरकारको आन्तरिक आय बृद्धिमा टेवा पुग्ने मेयर दिप नारायण रिजालले बताए ।
प्राकृतिक छटाले भरिपुर्ण अग्लोडाँडा बगरेभन्ज्याङ, जहाँबाट दुरदराजका हिमाली तथा पहाडी दृश्यहरु सजिलै नियाल्न सकिन्छ । त्यसकारण पनि आन्तरिक पर्यटन प्रर्वद्धन गर्न सकिने मेयर रिजालको विश्वास छ ।
२७ मिटर अग्लो तथा ६ तले पेनटावर निर्माणको काम ८० प्रतिशत सकिएको रावा निर्माण सेवाका साइट इन्चार्ज नेत्र गुरुङको भनाई छ । उनले भने, ‘टावर निर्माणको काम रफ्तारमा भइरहेको छ ।’ गत असारमै काम सकेर सञ्चालनमा आइसक्नुपर्ने टावर निर्माणको काम कोरोना भाइरसको संक्रमण जोखिमका कारण प्रभावित बनेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका राजनितिक सल्लाहकार कमल ढकालले टावर र ताल निर्माण तथा व्यवस्थापनको काम सकेपछि यूवापुस्ताको गन्तव्य बन्ने बताए । उनले भने, ‘हिमाल संगै मनोरम दृव्यावलोकन गर्न पाए नआउने को होला र ? जो कोही पनि आउन सक्छन् ।’
सदरमुकाम दिक्तेलबाट करिब १६ किलोमिटरको दुरीमा रहेको बगरे भन्ज्यांङमा टावर मूनीको भागमा ताल निर्माणाधिन अवस्थामा छ । ४५ लाखमा डुंगा शयर गर्न मिल्नेगरी कृतिम ‘रुरु ताल’ समेत निर्माण भइरहेको छ । ३५ लाखमा एकपटकमा एक हजार जना अट्ने पिकनीङ स्थल बन्नुले भविष्यमा बगरेभन्ज्यांङ व्यस्त पर्यटकीय स्थल बन्ने नगरपालिकाका मेयर रिजालले बताए ।
उनले भने, ‘नगरपालिका भुलभुले दुधकुण्ड, रुवालुङ झरनाजस्ता ११ वटा महत्वपूर्ण पर्यटकीय गन्तव्यलाई व्यवस्थित बनाउने काम चलिरहेको छ । जस्ले पर्यटनको माध्यमबाट आन्तरिक आय बृद्धिमा समेत टेवा पु¥याउनेछ ।