बीपी प्रतिष्ठानले कोरोना उपचारको शुल्क तोक्नु गलत : मुख्यमन्त्री राई

सुनसरी — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमितको उपचार शुल्क लिने निर्णय गर्नु गलत भएको बताएका छन् । प्रतिष्ठानले प्रदेश सरकारसँग समन्वय नगरी आफूखुसी शुल्क निर्धारण गरेको उनको भनाइ छ ।

प्रतिष्ठानले कोरोना संक्रमितको पीसीआर जाँच र उपचार गर्दा दैनिक १५ हजार शुल्क र ६० हजारसम्म धरौटी राख्नुपर्ने भनी सूचना जारी गरेकोमा मुख्यमन्त्री राईले उक्त निर्णय जनआकांक्षा विपरीत भएको बताए ।

महामारीमा राज्यले नि:शुल्क रूपमा नागरिकको स्वास्थ्य उपचार गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेकोसमेत उनले स्पष्ट पारेका छन् । उनले भने, ‘सर्वसाधारण नागरिकको उपचार गर्न भनेर नै कोभिड अस्पतालका लागि यसअघि १२ करोड ५० लाख दिएको हो । यसै गरी प्रदेश सरकारले अक्सिजन प्लान्टसहित २ सय बेड विस्तार गर्ने भनेर प्रतिष्ठानमा तयारी भइरहेको छ ।’ प्रदेश १ का जनतालाई कोरोनाको नि:शुल्क उपचार सेवा दिन आन्तरिक छलफलमा व्यस्त रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार