सोलुखुम्बु – नारायण रायमाझी लोक क्षेत्रकै सर्वप्रिय नाम । उनै रायमाझी पछिल्लो समय एक सय लोकले मन पराएका गीतहरु रिमेकमा व्यस्त छन् । क्यासेट, सिडि र सिआरविटी–पिआरविटीको यूगलाई जितेका रायमाझीले आफूलाई डिजिटल बजारमा पनि उत्तिकै अब्बल रुपमा उभ्याएका छन् ।
रिमा इन्टरटेनमेन्ट नेपाल च्यानलबाट सार्वजनिक गरिएका अधिकांश रिमेक गीतलाई कान्छो पुस्ताले पनि गज्जब माया दिएका छन् । पुराना गीतलाई रिमेक गर्ने क्रममा नारायण रायमाझीले सदाबहार गीत ‘नमुछे आमा दहीमा टिका’को तेस्रो रेर्कडिङ बजारमा ल्याएका छन् ।
रायमाझीकै सहोदर दाजु स्व. लक्ष्मण रायमाझीको लेखनमा तयार भएको गीत पहिलो पटक २०५५ सालमा नारायणले एकल स्वर भरेका थिए । त्यसबेला पनि उत्तिकै चर्चा कमाएको गीतलाई दोस्रो पटक २०५८ सालमा कृष्णभक्त राई र लक्ष्मी न्यौपानेको यूगल स्वरमा रेर्कड भएको थियो । त्यसबेला पनि गाउँशहर चर्चा कमाएको सोही गीतलाई तेस्रो पटक रिमेक गरिएको छ । यो पटक स्वयम् नारायण रायमाझी र बजारमा चलेकी कान्छा पुस्तामा भिजेकी गायिका रचना रिमालको स्वर सुन्न सकिन्छ ।
जब, नेपालीको घर आँगनमा दशैँ आउँछ । तब, रेडियो टेलिभिजनमा गुन्जने यो गीतको भिडियो यो पटक दुई धारबाट बजारमा छ । केही हप्ता अघि स्टुडियो छायांकनको भिडियो दर्शक–स्रोता माझ पठाएका रायमाझीले फूलपातीको दिन अर्को भिडियो सार्वजनिक गरिएको छ । रायमाझी भन्छन्, ‘अलि छिट्टै भिडियो ल्याउने तयारी गरेपनि प्राविधिक कारणले केही ढिला भयो । तैपनि, माया गरिदिनुस् है ।’
स्टुडियो छायांकनको भिडियो २२ लाख बढि दर्शकले हेरेका छन् । शुक्रबार सार्वजनिक गरिएको भिडियो यो समाचार तयार एक लाख २५ हजार बढिले हेरिसकेका छन् । देवेन्द्र बल्लु र विनु खड्काको निर्देशनमा तयार भएको गीतको भिडियोमा नारायणको कारुणीक कथालाई प्रस्तुत गरिएको छ ।
भिडियोमा देवेन्द्र बल्लु, रमा थपलिया, अन्जली अधिकारी लगायत बाल कलाकारको रुपमा प्रिन्सा खड्का र मन्जिला बानिँयाले अभिनय गरेका छन् ।