विना ‘मास्क’ बजार र हस्पिटल

  दिपेन्द्र पराजुली
1.2k Shares

सोलुखुम्बु – सोलुखुम्बुमा बजार भर्न निस्केका वा उपचारका लागि अस्पताल सम्म पुग्ने सर्वसाधारण मास्कको प्रयोग गर्न छाडेको पाइएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै आएपनि सुरक्षा सावधानीका उपाय आत्मसाथ गर्ने व्यवहार पातलिदै गएको छ ।

सल्लेरीस्थित शनिबारे हाटमा पुगेका अधिकांश सर्वसाधारण मास्क विनै पुगेका थिए । कोरोना भाईरस संक्रमणबाट बच्नका लागि मास्क लगाउनुपर्छ भन्ने थाहा हुँदाहँदै पनि मास्कको सहि प्रयोग गरेको पाइएन । धेरैको साथमा मास्क भएपनि कतिपयले गोजीमा थन्काएका थिए भने कतिले हातमा बोकेर हिडडुल गरेको देखिन्थ्यो ।

सल्लेरीका एक स्थानियले भने, ‘मास्क लगाउनुपर्छ भन्ने थाहा छ तर बाहिरका मान्छे आको छैन भन्ने भान भएर पनि मास्कको प्रयोगमा लापरबाही भइहाल्छ ।’ उद्यपी, हस्पिटल जाँदा भने अनिवार्य मास्कको प्रयोग गर्ने उनको भनाई थियो ।

‘सल्लेरीमा संक्रमित पहिचान भएको भोली निकै सजक बनेका सर्वसाधारण पर्सिपल्ट देखिनै कोरोनाको जोखिम भुल्छन्’ अर्का एक सल्लेरीका स्थानीयले बताए । जिल्लामा ‘तपाईको मास्क खै ?’ अभियान सञ्चालन गरिएपनि त्यसको प्रभावकारीता फितलो बन्दै गएको स्वयम सरोकारवालाहरु नै बताउछन् । शुरु शुरुमा सार्वजनिक स्थलका ठाउँ ठाउँमा हात धुने व्यवस्था मिलाइएपनि अहिले त्यसको निरन्तरता छैन् ।

सदरमुकाम सल्लेरीमा मात्रै नभई गाउँघरमा लाग्ने हाटबजारमा समेत अधिकांशले मास्क लगाउदैनन् । नेचाबिहीबारे बजार क्षेत्रमा पनि कमैले मास्क लगाउने गरेको सहकर्मी धनकुमार ढुंगेलले बताए । उनले भने, ‘गाउँघरमा मास्क नै महंगो छ, दैनिक मास्क फेर्न आर्थिक अवस्थाले पनि भ्याउदैन् । एउटै मास्कको २० देखि ३० रुपैँया सम्म पर्छ ।’

जिल्ला अस्पताल फाप्लुमा पनि उपचारका लागि जाने कतिपय बिरामी तथा उनका आफन्त मास्क बिनै पुग्ने गरेका छन् । निमत्ति कार्यालय प्रमुख सानी शेर्पाले भनिन्, ‘अस्पतालमा आएका कतिपय बिरामीलाई अस्पताले नै मास्क वितरण दिनपर्ने अवस्था छ ।’ सम्झाउदा केही समय लगाएपनि फेरि मास्क हातमा लिने वा झोलामा राख्ने या त चिउडोमा सार्ने व्यवहार दोहो¥याउने प्रवृत्ति बढेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार