खिजीकातीका एकल पुरुषलाई पनि मासिक भत्ता

  हिमाल समाचार
287 Shares

ओखलढुंगा – खिजीकातीका एकल पुरुषलाई भत्ता दिन थालिएको छ । जिल्लामै पहिलो पटक खिजीदेम्बा गाउँपालिका ४ नम्बर वडा कार्यालयले एकल पुरुषलाई भत्ता दिन थालेको हो ।

७० वर्ष माथिकाले जेष्ठ नागरिक भत्ता पाउने भएपनि भत्ता पाउने उमेर नपुगका एकल पुरुषहरु साहारा विहिन बनेकाले उनीहरुलाई वडाको बजेटबाट मासिक ५०० आर्थिक सहयोग गरेर सम्बोधन गरिएको वडा अध्यक्ष कमलप्रसाद न्यौपानेले बताए ।

ज्येष्ठ नागरिक, विधवा महिला, असहाय तथा दलित बालबालिका र अपाङ्गता भएकाहरुलाई सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता वितरणसँगै एकल पुरुषलाई पनि मासिक भत्ता वितरण गर्न थालिएको अध्यक्ष न्यौपानेको भनाई छ । सबै नागरिकलाई स्थानीय सरकारका तर्फबाट अभिभावकत्व दिने वडाको नीति अनुसार एकल पुरुष भत्ता कार्यक्रम ल्याइएको उनको भनाई छ ।

यो वर्षबाट खिजीकातीका ६० देखि ६९ वर्ष उमेरका ७ जना एकल पुरुषले मासिक ५०० का दरले एकल पुरुष भत्ता खान थालेका छन् । जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता सँगै वडाले एकल पुरुषलाई यसवर्षको मासिक भत्ता वापत पाउने ६ हजार रकम वितरण गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार