प्रधानमन्त्रीले ‘रअ’ प्रमुखसँग भेट्नु कूटनीतिक मर्यादाविपरीत : प्रवक्ता श्रेष्ठ

  हिमाल समाचार
84 Shares

काठमाडौँ — सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेट राजनीतिक र कूटनीतिक मर्यादाविपरीत भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत ओली र गोयलबीच भएको भेटबारे आफ्ना धारणा सार्वजनिक गर्दै श्रेष्ठले भनेका छन्, ‘नेपालको राजनीतिक एवं कूटनीतिक इतिहासमा यस प्रकृतिको यो पहिलो घटना हो, देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसूची विदेशी गुप्तचर संस्थाको अधिकारीसँग कूटनीतिक मर्यादाविपरीत समकक्षीझैं औपचारिक वार्ता गरेको ।’

नेपालको गुप्तचर संस्थाले गोयललाई बोलाएर प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेको भए मर्यादाअनुरुप हुने श्रेष्ठको धारणा छ । ‘नेपालको राष्ट्रिय अनुसन्धान विभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित विषयमा छलफल गर्न भ्रमणका लागि निमन्त्रणा गरेको हो भने कूटनीतिक मर्यादाअनुरुप शिष्टाचार भेट हुन सक्थ्यो,’ उनले लेखेका छन् ।

प्रधानमन्त्रीनिकट नेताहरूले गोयलसँगको भेटको बचाउ गरिरहेका बेला इतर समूहका नेताहरूले भने आलोचना गरिरहेका छन् । प्रतिपक्षी दलहरूले पनि ओली-गोयल भेटको आलोचना गरिरहेका छन् ।

प्रधानमन्त्री ओली र गोयलबीच भएको भेटबारे सत्तारुढ दल नेकपालाई केही जानकारी नभएको प्रवक्ता श्रेष्ठको भनाइ छ । ‘भारतको गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोएल विमान नै चार्टर गरी आफ्नो टोलीसहित नेपाल आएर हाम्रा प्रधानमन्त्रीसँग ‘वार्ता’ गरेर फिर्ता भएछन् । प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको संस्थागत जानकारी र उपस्थितिबिना उनलाई भेट्नुभएछ,’ उनले लेखेका छन्, ‘हाम्रो पार्टीलाई यसबारेमा कुनै पूर्वजानकारी थिएन र पछि पनि पार्टीमा यसबारेमा कुनै संस्थागत एवं औपचारिक छलफल भएको छैन ।’

गोयललाई भारत सरकारले विशेष दूतका रूपमा पठाएकोबारे पनि कुनै जानकारी प्रधानमन्त्रीको तहबाट नआएको श्रेष्ठको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार