जिल्ला प्रशासन र दिक्तेल रुपाकोटबाट प्रवाह हुने सेवा बन्द

कन्ट्रयाक ट्रेसिङको आधारमा ६६ जनाको स्वाब संकलन

  हिमाल समाचार
476 Shares

खोटाङ – प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय खोटाङले अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरेको छ ।

प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल र सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठमा कोरोना संक्रमण देखिएकाले कार्यालयका अन्य सम्पूर्ण कर्मचारीको कन्ट्रयाक ट्रेसिङ गरि पिसिआर परिक्षण गर्ने काम भइरहेकाले सेवा प्रवाह गर्दा सेवाग्राहीमा समेत कोरोना भाइरसको संक्रमण हुनसक्ने भएकाले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी पौडेलले आज सूचना जारी गर्दै बिहीबार (भोली)बाट अर्को सूचना जारी नभएसम्मका लागि शान्ती सुरक्षा र मुद्दा सम्बन्धी बाहेक अन्य सम्पूर्ण सेवा बन्द गरिएको जनाएको हो ।

त्यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पनि अनिश्चितकालिन सेवा प्रवाह बन्द गरेको छ । समुदाय स्तरमा कोरोना संक्रमण फैलन नदिनका लागि नगरपालिकाले प्रदान गर्ने सम्पुर्ण सेवा बन्द गरिएको मेयर दिप नारायण रिजालले जानकारी दिए ।

जिल्लाका उच्च पदस्थ व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि कन्ट्रयाक ट्रेसिङको आधारमा आज ६६ जनाको स्वाब संकलन गरि पिसिआर परीक्षणका लागि काठमाण्डौ पठाएको मेयर रिजालले बताए । उनीहरुको रिर्पोटको आधारमा आगामी योजना बनाउने उनको भनाई छ ।

यस्तै, जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङमा पनि कोरोना संक्रमण पुष्टि भएपछि अर्को रिपोर्ट नआएसम्मलाई कार्यालय सिल गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार