प्रदेश १ : धानको उत्पादन बढ्ने अनुमान

विराटनगर – प्रदेश नं १ मा यो बर्ष धान उत्पादन बढ्ने अनुमान गरिएको छ । समयमै बर्षा भएपछि कृषकहरुले धान फल्ने जमिन बाँझो राख्नु पर्ने अवस्था थिएन ।

गत बर्षको तुलनामा धान रोपाँइको क्षेत्रफल बढेकाले पनि यो बर्ष धान उत्पादन बढ्ने अनुमान गरिएको प्रदेश १ अन्तरगतको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । गत बर्षको तुलनामा प्रदेश १ मा २० हजार हेक्टर वढि क्षेत्रफलमा धान खेती लगाइएको मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले बताए ।

यो बर्ष राम्रोसँग पानी परेका कारण सिँचाइ नलाग्ने क्षेत्रहरुमा पनि राम्रो धान फलेको छ । दसैंसँगै तराईका अधिकांस क्षेत्रमा धान काट्ने चटारो छ । कृषकहरु कोरोना छल्दै धान भित्राउन व्यस्त बनेका छन् ।

प्रदेश १ का झापा, मोरङ र सुनसरी अन्न भण्डार हुन् । प्रदेश १ को ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमा धान खेती गर्न योग्य जमिन छ । यो वर्ष करिब ३ लाख ५० हजार हेक्टरमा धान खेती गरिएको छ ।

गत वर्ष करीव १२ लाख मेट्रिक टन धान उत्पादन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार