सोलुखुम्बु – गएको बर्ष यो मितिमा तिहार मनाई सकिएको थियो । यो पटक तिहार आउन अझै दुई हप्ता बाँकी छ । तर घर आँगनी र फूलबारीमा ढकमक्क फूल फूलिसके । कतिपय स्थानमा फूलेका फूल सुक्न समेत छाडिसक्यो । त्यस्ले दिदीवहिनीहरुमा तिहारका लागि रोपिएका फूल नरहने पो होकी भन्ने चिन्ता शुरु भएको छ ।
तिहारमा दिदीवहिनीहरुले दाजुभाइ पुज्नका लागि सयपत्री र मखमली फूलको प्रयोग गर्छन् । तिहारकै लागि भनेर रोपिएका फूल अहिले फूलेर पनि सुक्न थालेपछि दिदीवहिनीहरुमा चिन्ता शुरु भएको छ ।
सोलु नेचासल्यान २ सल्यानकी कञ्चन बास्तोलालाई फूल सुक्न थालेपछि तिहारसम्म नरहला की भन्ने चिन्ताले सताउन थालेको छ । आफैँले रोपेका फूल सुक्ने र कोरोनाका कारण आयात पनि नहुने हो भने तिहारमा फूलको अभाव हुन सक्ने उनको भनाई छ । उनी भन्छिन्, ‘यहि रफ्तारमा फूल ओइलाउन थाले तिहारमा माला गाँस्ने फूल नरहन पनि सक्छ । त्यसकारण हामी चिन्तित छौँ ।’
उनी भन्छिन्, ‘यहि रफ्तारमा फूल ओइलाउन थाले तिहारमा माला गाँस्ने फूल नरहन पनि सक्छ । त्यसकारण हामी चिन्तित छौँ ।’
कोरोना कहरका कारण तिहारमा आवश्यक पर्ने फूल लगायतका सामाग्री आयातको अवस्था कमजोर बनेको छ । फूलको अभावमा बजारमा पाइने कृतिम माला प्रयोग गर्न बानी पारेका कतिपयलाई पनि यो पटक समस्या हुन सक्छ । सोलुु वाकुका हिमालकर्मी देवी प्रसाद घिमिरे गाउँघरमा रोपिएका फूल बेलैमा फूलेर सुक्न थालेपछि दिदीवहिनीमा पिरलो शुरु भएको बताउछन् ।
हिन्दु धर्मावलम्बीहरूको दशैंपछिको सबैभन्दा ठूलो पर्व तिहार यो बर्ष अधिकमासका कारण झण्डै एक महिना पछाडि धकेलिएको हो । फूल सुक्ने क्रम बढे तिहारमा सयपत्री तथा मखमली फूलको माला अभाव हुने देखिन्छ ।
गत वर्षको तिहारमा झण्डै २५ लाख माला खपत भएको थियो । यस वर्ष भने कोरोना संक्रमणको जोखिमका कारण फूलको माग कम हुने आकलन व्यवसायीले गरेका छन् । यस वर्ष १२ देखि १५ लाख मालाको माग हुने अनुमान गरिएको छ ।
घरेलु किसानले उत्पादन गरेको फूल तिहार अगाडि नै सुकेर गएपनि व्यावसायिक रुपमा गरिएको फूलको उत्पादनले स्वदेशी माग धान्ने तयारीमा व्यवसायी छन् । जस्ले गर्दा यो पटक फूलको मुल्य आकाशिने अनुमान गरिएको छ ।