सोलुका जनप्रतिनिधिले स्वास्थ्यमन्त्री ढकाललाई भेटेर मागे अस्पताल निर्माणको अख्तियारी

सोलुखुम्बु – संघीय सांसद हेमकुमार राई (सुरवीर)को नेतृत्वमा सोलुखुम्बुका जनप्रतिनिधिहरुको टोलीले स्वस्थ्यमन्त्री भानुभक्त ढकाललाई भेट गरेका छन् ।

सोमबार स्वास्थ्यमन्त्री ढकालको कार्यकक्षमै भएको भेटमा जनप्रतिनिधिहरुले स्थानीय तहमा १५ शैयाको अस्पताल बनाउने कार्यक्रमलाई यथासिघ्र कार्यन्वयनमा ल्याउन आग्रह गरेका छन् ।

अस्पताल निर्माणको लागि अख्तियारी लगायतका प्रक्रिया यथासिघ्र अघि बढाउन आग्रह गरिएको प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’ले जानकारी दिए ।

हरेक स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माणका लागि पहिलो चरणमा भौतिक संरचना निर्माणका लागि स्थानीय तहलाई १४–१४ करोड रुपैयाँको दरले बजेटको व्यवस्था गरिएको छ ।

सोलुका स्थानीय तहहरुको हकमा सुरुवाती बजेट कम्तिमा ७० लाख देखि २ करोडसम्म विनियोजन भइसकेको छ ।

स्वास्थ्यमन्त्री ढकाल संगको भेटमा जिल्लाको स्वास्थ्य क्षेत्रको सुधार तथा कोरोना भाइरसबाट पछिल्लो समयमा जिल्ला र समग्र मुलुकमा उत्पन्न समस्या र त्यसका समाधानका उपायबारे समेत छलफल भएको प्रतिनिधि सभा सदस्य राईले बताए ।

भेटमा थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँती, नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोला, सोताङ गाउँपालिका अध्यक्ष वीर बहादुर राई लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार