सोलुखुम्बु – आगामी शुक्रबार (कात्तिक २१)मा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले काँगेल र महाकुलुङ विमानस्थल निरीक्षण गर्ने भएका छन् ।
प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’, थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँती लगायतको टोलीले गरेको भेटपछि मन्त्री भट्टराईले संचालनमा नरहेको काँगेल विमानस्थल र निर्माणको प्रक्रियामा रहेको महाकुलुङ विमानस्थलको निरीक्षण गर्ने टुंगो लागेको हो ।
२०५३–५४ सालमा निर्माण गरिएको काँगेल विमानस्थल थुलुङ दुधकोशी गाउँपालिका २ मा अवस्थित छ । उडानअवतरणका लागि प्राविधिक हिसावले अप्ठ्यारो मानिएको उक्त विमानस्थल बर्षौ देखि गौरचणमा परिणत बनेको छ ।
प्राविधिक टोली सहित सोही विमानस्थलको संभाव्यता अध्ययन गर्ने गरि निरीक्षण भ्रमण राखिएको गाउँपालिका अध्यक्ष असिम राईले बताए । संभव देखिए हप्ताको एक दिन उडान भर्ने गरि तयारी थाल्ने अध्यक्ष राईको भनाई छ ।
उनले भने, ‘आउदो शुक्रबार मन्त्रीज्यू काँगेल विमानस्थलको निरीक्षणमा आउदै हुनुहुन्छ । राज्यको ठूलो लगानी भएको विमानस्थलको सदुपयोग हुन नसकेकाले संचालन गर्न सक्ने–नसक्ने बारे संभाव्यता अध्ययन गर्ने र संभव देखिए काठमाण्डौँ–काँगेल साप्ताहिक उडान भर्नेमा हाम्रो जोड रहन्छ ।’
उता, महाकुलुङ गाउँपालिकाको गुदेलमा निर्माण हुने महाकुलुङ विमानस्थलको वातावरणीय प्रभाव मुल्यांकन पास भएर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को प्रक्रियामा रहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले दुधकोशी पारिका नागरिक र पर्यटन प्रर्वद्धनका दृष्ट्रिकोणबाट उपयुक्त देखिएको उक्त विमानस्थल निर्माण हुने क्षेत्रको समेत शुक्रबार निरीक्षण गर्ने कार्यक्रम तय भएको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिए ।
उनले भने, ‘एक महिना अघि नै मन्त्री भट्टराईले निरीक्षण गर्ने योजना थियो तर उहाँलाई कोरोना संक्रमण भएपछि धकलियो ।’ निरीक्षण टोलीमा मन्त्री भट्टराई सहित प्रतिनिधि सभा सदस्य राई सहित उड्ययन प्राविधिकको समाबेश हुनेछन् ।