सोलुदुधकुण्डमा कुकुर बन्ध्याकरण शिविर (भिडियो)

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिकामा सामुदायिक तथा घरपालुवा कुकुरहरुको बन्ध्याकरण शुरु गरिएको छ ।

सोलुदुधकुण्ड नगरपालिका र हिमालयन एनिमल रेष्क्यु ट्रस्ट (हार्ट) नेपालले पोखराको आर्थिक तथा प्राविधिक सहयोगमा नगरपालिका भित्रका सामुदायिक तथा घरपालुवा भाले तथा पोथी कुकुरको बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाउन थालिएको हो ।

अघिल्लो बर्ष करिब २ सय कुकुरको बन्ध्याकरण गरिएको नगरपालिकाले यो बर्ष पनि बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाउने कार्यक्रमलाई निरन्तरता दिएको छ । कुकुरको संख्या बढेपछि बजार क्षेत्रमा हिडडुल गर्ने सर्वसाधारण माथी बढेको जोखिम न्यूनिकरण गर्न र घरपालुवा कुुकुरलाई रेविज विरुद्धको खोप लगाउन अन्यत्र लैजानुपर्ने नगरबासीको समस्यालाई ध्यानमा राख्दै कार्यक्रमलाई निरन्तरता दिएको मेयर नाम्गेल जाङबु शेर्पाले बताए ।

हिमालयन एनिमल रेष्क्यु ट्रस्ट (हार्ट) नेपालका संयोजक खगेश्वर शर्माले मारेर कुकुरको संख्या नियन्त्रण गर्ने अमानवीय कामको चौतर्फी आलोचना भएपछि बन्ध्याकरणको विधि अपनाउन थालिएको बताए । बन्ध्याकरणको समयमा कुकुरमा रहेका टयूमर लगायत समस्याको उपचार समेत गर्ने उनको भनाई छ । कुकुरको संख्या नियन्त्रणको उचित विधि नै बध्याकरण भएको हार्ट नेपालका संयोजक शर्माले बताए ।

४ दिन (कात्तिक २१)सम्म चल्ने बन्ध्याकरण शिविरमा नगरपालिका भित्र भेटिएका कुकुर समातेर ल्याउने, रेविज विरुद्धको खोपको साथमा भाले तथा पोथी कुकुरको बन्ध्याकरण गरेर समातिएकै ठाउँमा लगेर छाडिने नगरपालिकाले जनाएको छ ।

शिविर संचालनमा प्राविधिक सहित औषधीको ५० प्रतिशत खर्च हिमालयन एनिमल रेष्क्यु ट्रस्ट (हार्ट) नेपाले व्यहोरेको छ भने स्थानीय व्यवस्थापन र औषधीको ५० प्रतिशत सोलुदुधकुण्ड नगरपालिकाले व्यहोर्ने गरेको पशु सेवा शाखा प्रमुख लेखनाथ बास्तोलाले बताए ।

बन्ध्याकरण र रेविज विरुद्धको खोप शिविरलाई नगरबासीले सकारात्मक रुपमा लिएका छन् । सोलुदुधकुण्ड ५ सल्लेरीका विष्णु राईले बन्ध्याकरणका लागि काठमाण्डौ लैजाने सोच बनाएको तर नगरपालिकाको व्यवस्थापन शिविर संचालन हुने खबरले खुसी भएको बताए ।

उनले घरमा पालेको कुकुरलाई मंगलबार नै बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाएको बताए । मंगलबार (पहिलो दिन) भाले २३ र पोथी १५ गरि ३८ सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार