नयाँ निकुञ्जमा सोलुखुम्बु पनि समेटिने

  हिमाल समाचार
3.2k Shares

काठमाडौँ — सरकारले मुगु, नुवाकोट–सिन्धुपाल्चोक र सोलुखुम्बु–संखुभासभामा गरी तीन नयाँ निकुञ्ज बनाउने तयारी थालेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले डोल्पास्थित से–फोक्सुन्डो निकुञ्जबाट पूर्वको मुगुमा फैलिएको ८३९ वर्गकिलोमिटर क्षेत्रलाई डोल्फु राष्ट्रिय निकुञ्ज बनाउने प्रस्ताव अघि बढाएको छ । डोल्फु अहिले से–फोक्सुन्डो निकुञ्जमा समेटिएको छ ।

त्यस्तै अहिले लामटाङ निकुञ्जमा रहेको नुवाकोटको कुटुम्साङदेखि सिन्धुपाल्चोकको बलेफी खोलासम्मको पूर्वी भागमा अलग्गै र मकालु बरुण निकुञ्जसँगैको संखुवासभाको केही भागमा सोलुखुम्बुको बुङ क्षेत्रसहित जोडेर अलग्गै निकुञ्ज बनाउने तयारी थालेको हो । नयाँ बनाइने दुई निकुञ्जको नाम भने सम्बन्धित निकुञ्ज कार्यालयलगायत सरोकारवाला निकायसँगको छलफलबाट तय गरिने भएको छ ।

हालै तयार गरिएको ‘विभागको तत्काल सुधार रणनीतिक योजना’ मा तीन वटा नयाँ निकुञ्ज थप्ने प्रस्ताव गरिएको हो । वन तथा वातावरण मन्त्रालयका सहसचिव पेमनारायण कँडेलले विभागको नेतृत्व गरेलगत्तै विभागको रणनीतिक योजना तयार गरी कार्यान्वयनका लागि अघि बढाइएका हुन् ।

भूगोल धेरै समेटेर निकुञ्ज बनाइएकाले व्यवस्थापन–संरक्षणमा समस्या उत्पन्न भएपछि भइरहेकै क्षेत्रलाई टुक्रयाएर नयाँ निकुञ्ज बनाउने तयारी सुरु गरिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा ‘सरकारले आवश्यक ठानेमा कुनै क्षेत्रलाई त्यसको चार किल्लासमेत खोलिएको सूचना नेपाल राजपत्रमा प्रकाशित गरी राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्र घोषणा गर्न सक्ने’ व्यवस्था छ ।

तीन थपिएपछि मुलुकमा निकुञ्जको संख्या १५ हुनेछ । अहिले देशभरि १२ वटा निकुञ्ज, दुई वटा आरक्ष (एक सिकार आरक्ष), ६ वटा संरक्षण क्षेत्र र १३ वटा मध्यवर्ती क्षेत्र छन् । मुलुकको कुल क्षेत्रफलको २३.३९ प्रतिशत भू–भाग संरक्षित क्षेत्रका रूपमा घोषणा भई विभागमार्फत व्यवस्थापन भइरहेको छ ।

२० वटा संरक्षित क्षेत्रका फिल्डस्तरका कार्यालयमा १ हजार ९ सय ७ जना कर्मचारी छन् । पहिलो २०३० मा स्थापना गरिएको चितवन निकुञ्ज सबैभन्दा बढी आम्दानी गर्ने र बढी पर्यटक भित्रिनेमा पर्छ । योबाहेक १२ वटै निकुञ्ज र दुई वटा आरक्षहरूमा नेपाली सेनाको गण र गुल्म राखेर सुरक्षा व्यवस्था मिलाइएको छ । कान्तिपुर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार