मंसिर ६ मा माप्य–खुम्बु मितेरी पुलको उद्घाटन

  हिमाल समाचार
3.8k Shares

सोलुखुम्बु – माप्य–खुम्बु मितेरी मोटरेबल पुलको औपचारिक उद्घाटन मिति आगामी मंसिर ६ गते तोकिएको छ । सर्वोच्च शिखर सगरमाथा क्षेत्रलाई सिधा जोड्ने गरि ओर्लाङघाटमा गत बैशाखमै निर्माण सम्पन्न भएपनि कोभिड–१९ (कोरोना भाइरस)का कारण उद्घाटनमा ढिलाइ भएको हो ।

पुलको उद्घाटन प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले गर्ने माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिए । सो कार्यक्रममा सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हेमकुमार राई (सुरवीर), प्रदेश नम्बर १ का अर्थमन्त्री इन्द्र आङ्बो, प्रदेश नम्बर १ नेकपा संसदीय दलका प्रमुख सचेतकसमेत रहेका प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी, प्रदेश सभा सदस्य उत्तमकुमार बस्नेत लगायतको उपस्थिति रहने छ ।

इभिडिङ प्रणालीबाट पुल निर्माणको जिम्मा जलप नेपालले पाएको थियो । ९ करोड ४५ लाखको डीपीआर बनेपनि टेण्डर मार्फत जलप नेपालले ७ करोड २९ लाख ९७ हजार २ सयमा काम सम्पन्न गरेको छ । पुल निर्माणमा संघीय सांसद कोषमार्फत १ करोड, प्रदेश सरकारबाट २ करोड, बाँकी माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकाले ५०–५० प्रतिशतको साझेदार लगानी रहेको छ ।

४८ मिटर लम्बाई रहेको पुलको चौडाई ६ मिटर रहेको छ । ५५ टन क्षमताको पुलको फाउण्डेसन पानीको सतहबाट डेढ मिटरभन्दा मुनी रहेको छ भने त्यसभन्दा माथि दुईतर्फी पिल्लरको उचाई साढे ६ मिटर रहेको छ ।

माप्य दुधकोशी र खुम्बु पासाङल्हमू गाउँपालिका (दुई स्थानीय तह)लाई जोड्ने भएकाले मितेरी पुल भनिएको छ । यद्यपी, पुल निर्माण भएको भूमि वडा नं १ टाक्सिन्दु क्षेत्रमा पर्ने सोलुदुधकुण्ड नगरपालिकाले दाबी गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार