सोलुखुम्बु – सोलुखुम्बुको सल्लेरी र फाप्लुका पसल अनुगमन गरिएको छ ।
बजारमा अखाद्य वस्तु खरिद विक्रि भइरहेको गुनासो आईरहेको बेला बुधबार सल्लेरी स्थित नयाँबजार, बसन्त बजार र बिहिबार फाप्लु क्षेत्रका पसल अनुगमन गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाको नेतृत्वमा गरिएको बजार अनुगमनमा मुल्यसूची नराखेकालाई राख्न, पसल दर्ता गर्न समेत निर्देशन दिइएको सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर तथा बजार अनुगमन समिति संयोजक कल्पना राईले बताईन् ।
बजार अनुमगनमा १ लाख ७२ हजार भन्दा बढि मुल्यका अखाद्य वस्तु जफत गरि नष्ट गरिएको छ । बुधबार बसन्त बजार, नयाँ बजार क्षेत्रका २७ वटा पसलबाट १ लाख ३३ हजार भन्दा बढि मुल्य बराबरका अखाद्य वस्तु जफत गरि नष्ट गरिएको हो ।
त्यस्तै फाप्लुका१४ वटा पसलबाट म्याद नाघेका ३८ हजार बराबरका दैनिक उपभोग्य सामाग्री जफत गरि नष्ट गरिएको घरेलु तथा साना उद्योग विकास कार्यालयका अधिकृत कपिलमणि दाहालले जानकारी दिए ।
आवश्यकता अनुसार जुनसुकै समयमा बजार अनुगमन गरिने सहायक प्रमुख जिल्ला अधिकारी खतिवडाको भनाई छ ।