मन्त्री भट्टराईले भने, ‘काँगेल विमानस्थल मंसिर देखि सूचारु गरौँ’

कस्ले के भने ?

सोलुखुम्बु – संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले बर्षौ देखि बन्द रहेको कांगेल विमानस्थल यहि मंसिर देखि सूचारु गर्ने आश्वासन दिएका छन् ।

शुक्रबार सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका २ स्थित काँगेल विमानस्थलको स्थलगत निरीक्षणमा आएका मन्त्री भट्टराईले एयरलाइन्ससंग छलफल गरेर इच्छुक एयरलाइन्सलाई मंसिर देखि उडान भर्ने वातावरण बनाउने बताए ।

उनले भने, ‘कम्तीमा पनि हप्ताको एक उडानबाट थालौ । त्यसपछि यात्रुको चाप अनुसार बढाउन सकिन्छ ।’ काठमाण्डौ गएपछि सम्बन्धित पक्षसंग छलफल चलाउने र इच्छुक एयरलाइन्सलाई उडान अनुमति दिने मन्त्री भट्टराईले बताए ।

जनश्रमदान सहित राज्यको करोडौ लगानीमा निर्माण भएको विमानस्थल सूचारु गर्ने र स्थानीय सरकारसंग समन्वय गरेर संचालनका लागि मापदण्ड तयार पार्ने उनको भनाई छ ।

कस्ले के भने ?

विमानस्थल परिसरमा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’ले जनताको माग अनुसार विमानस्थलको स्तरोन्नती गरेर सेवा सूचारु गर्नेपर्ने बताए ।

उनले भने, ‘जनप्रतिनिधिको लामो प्रयासपछि मन्त्रीज्यूको निरीक्षणको मौका मिलेको छ । दिगो संचालनका लागि उचित मोडालिटी आत्मसाथ गर्नुपर्छ ।’

प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीले स्थानीय, प्रदेश र संघीय सरकारको अनुदानको सहयोगमा भएपनि काँगेल विमानस्थलमा उडान सूचारु गर्नेपर्नेमा जोड गरे ।

उनले भने, ‘सके काठमाण्डौँ–काँगेल उडान भरौ, नसके विराटनगर–काँगेल उडान गरौँ । कुन उपयुक्त हुन्छ, सोही गरौँ ।’

प्रदेश सभा सदस्य उत्तम बस्नेतले राज्यको खर्च भएको विमानस्थल नियमित चल्ने वातावरण सृजना गर्नुपर्ने बताए ।

‘विमानस्थल नियमित चल्ने आधार बलियो बन्दै आएको छ । के भने, गाउँगाउँमा सडक पुगेकाले यात्रु आवतजावतका लागि अझ सहज भएको छ । यो विमानस्थल चले ग्रामिण भेगका नागरिक लाभान्वित हुनेछन् ।’

नेकपा सोलुुखम्बुका अध्यक्ष मानवीर राईले काँगेल विमानस्थल संचालन र स्तरोन्नतीको काममा नेकपा सदैव सकारात्मक रहेको बताए ।

कार्यक्रममा थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले बन्द काँगेल विमानस्थलमा मंसिर देखि उडान भर्ने दाबी गरे । जनश्रमदान समेत मिश्रीत विमानस्थल संचालनमा स्थानीय सरकारले साझेदारी गर्ने उनको भनाई छ ।

‘उडान खर्च नउठ्ने अवस्था रहे लागत साझेदारी गर्न स्थानीय सरकार तयार छ । हामीले उपयुक्त मोडालिटी आत्मसाथ गरेर मंसिर देखि उठान शुरु गर्नेछौ ।’ उनले भने ।
उडान अघि नागरिक उड्ययन प्राधिकरणका प्राविधिकको टोली ल्याएर अनुगमन गराउने र आवश्यक सुधारको काम सकेर हप्तामा कम्तीमा एक उडान भर्ने वातावरण तयार पार्ने अध्यक्ष राईले बताए ।

२०५२ सालमा निर्माण सुरु भएको विमानस्थलमा २०६२÷०६३ देखि उडान सेवा सुरु भएको थियो । २०७२ साल सम्म नेपाल एयरलाईन्स र तारा एयर एयरलाईन्सले उडान भर्दै आएका थिए । त्यसपछि बन्द विमानस्थल सूचारुका लागि अहिले जनप्रतिनिधिहरु लगि परेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार