‘महाकुलुङ विमानस्थलको डिपिआर छिट्टै, अर्को बर्ष बजेट’

सोलुखुम्बु – वातावरणीय प्रभाव मुल्यांकन (ईआइए)प्रतिवेदन पास भएको महाकुलुङ विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)छिट्टै बन्ने भएको छ ।

शुक्रबार संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले स्थलगत निरीक्षण गर्दै ईआइए प्रतिवेदन पास भएको विमानस्थलको डिपिआरको काम शुरु हुने बताए । काँगेल विमानस्थलको निरीक्षणपछि महाकुलुङको गुदेल पुगेका मन्त्री भट्टराईले आगामी आर्थिक बर्षको बजेटमा विमानस्थललाई समाबेश गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘यो विमानस्थल लुक्ला स्थित तेन्जिङ हिलारीको विकल्पको रुपमा रहन्छ । भोली पर्यटकको चाप बढे तेन्जिङ हिलारीले थेग्न सक्दैन् । त्यसकारण पनि महाकुलुङ विमानस्थल महत्वपुर्ण रहनेछ ।’

मन्त्री भट्टराईले विमानस्थलको संचालनपछि मेरापिक पदमार्गमा पर्यटकलाई आकर्षण गर्ने बताए । सोलुखुम्बु, भोजपुर र खोटाङलाई सडक सञ्जालले जोडेपछि तीनै जिल्लाका नागरिक लाभान्वित हुने उनले बताएको महाकुलुङबाट विकास कुलुङले जानकारी दिए ।

महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँतीले विमानस्थलको निर्माण प्रक्रिया द्रुत गतिमा अघि बढाउन आग्रह गरे । किराँतीले विमानस्थलले त्यस भेगका नागरिकको जीवनस्तरमा समेत परिर्वतन ल्याउने भएकाले यथासक्य डिपिआर तयार पारेर काम थाल्न नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोही भेटमा अध्यक्ष किराँतीले पर्यटन मन्त्री भट्टराईलाई मागपत्र बुझाएका छन् । सो माग पत्रमा महाकुलुङ ताल, महाकुलुङ पदमार्ग, कुलुङ सांस्कृतिक सग्राहलय, मेरापिक रुटमा पर्ने वातेल्मा र लुक्तुम्मा झोलुङगे पुल लगायतका ठूला विकासका आयोजनामा बजेट व्यवस्थापनका लागि माग पत्र बुझाइएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार