रुपेशको उपचारमा उपमेयरको दश हजार

  हिमाल समाचार
476 Shares

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख बिमला राईले टेम्पो दुर्घटनामा परी काठमाडौंको शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेको रूपेश राईको परिवारलाई १० हजार रुपैयाँ सहयोग गरेकी छन् ।

हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख राईले रूपेशकी आमा ममता राईलाई घर (हलेसीको डाँडाबजार)मै पुगी १० हजार रुपैयाँ हस्तान्तरण गरेकी हुन् । उनले रूपेशको स्वास्थ्यलाभको कामना गर्दै परिवारका सदस्य र रूपेश राई बचाऊ अभियानमा संलग्नलाई मनोबल उच्च बनाउन सान्त्वना प्रदान गरेकी थिइन् ।

हलेसीको ऐंसेलुखर्क पिलोतेमा टेम्पो दुर्घटना हुँदा कात्तिक २२ गते रूपेश राई गम्भीर घाइते भएका थिए । रूपेश राईको उपचार सहयोगार्थ सामाजिक सञ्जाल फेसबुकमार्फत ‘रूपेश राई बचाऊ’ अभियान थालिएको छ । अभियानका लागि दुर्छिम माध्यमिक विद्यालय दुर्छिमका अंग्रेजी शिक्षक नवीन चाम्लिङले फेसबुकमार्फत आह्वान गरेको ५ मिनेटपछि नै नगर उपप्रमुख बिमला राईले रूपेशकी आमालाई आर्थिक सहयोग गरेकी थिइन् ।

दुर्घटनालगत्तै हेलिकोप्टर चार्टर्ड गरेर उपचारका लागि उनलाई काठमाडौंको न्युरो अस्पताल पुर्याइएको थियो । न्युरोले सर्जरी अस्पताल कीर्तिपुर रेफर गरेको थियो । सर्जरी अस्पतालले शल्यक्रिया गर्नुपर्ने भन्दै शिक्षण अस्पताल महाराजगन्जमा रेफर गरेको हो ।

शिक्षण अस्पतालमा उपचार गराइरहेका रूपेशको आइतबार अपराह्न २ बजे शल्यक्रिया गर्ने मिति तय भए पनि हुन सकेन । घाइते राईको पीसीआर टेस्ट गर्नुपर्ने भएकाले आइतबार शल्यक्रिया नभएको अस्पतालले जनाएको छ ।

ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरहेकाले छोराको उपचारका लागि रूपेश राईको बुवा कम्पराज राई, आमा ममता राई र रूपेश राई बचाऊ अभियानले आह्वान गरेका छन् ।

रूपेश राईलाई सहयोग गर्ने मनकारीले नवीन चाम्लिङ (हलेसी), यविन्द्र राई (हलेसी), हामस राई (हलेसी)लाई क्रमशः ९८४९३०४०३८, ९८४२९४४३०१, ९८४२९४४३०० र चन्द्र राई ९८५१२७९२२२ (काठमाडौं) मामा सिधा सम्पर्क गर्न सक्नेछन् ।

टेम्पो दुर्घटनामा चालक अर्पण राईको दाहिने कुहिनामा चोट लागेको थियो । काठमाडौंमै सामान्य उपचार गरी घाइते चालक राई घर फर्केका छन् भने इलाका प्रहरी कार्यालय हलेसीले टेम्पो नियन्त्रणमा लिएको छ । तुवाचुङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार