सोलुखुम्बु – सोलुखुम्बुको नेचामा नेपाल टेलिकमको तार लथालिङ्ग अवस्थामा रहेको छ ।
करिब ४ वर्षदेखि सेवा प्रदान गर्न सुरु गरिएको टेलीकमको सेवा विस्तार भएको क्षेत्रमा तार तथा पोल लथालिङ्ग देखिएको हो । भण्डारी गाउँ, बेँसीगाउँ, राउतगाउँ, बिहिबारे बजारमा पोलबाट तार भुईमा झरेको छ भने कतिपय स्थानमा पोल नै ढलेको छ ।
तर नेचासल्यान गाउँपालिका–३ स्थित कार्यालयबाट भण्डारीगाउँ र माझगाउँ जाने क्षेत्रमा राष्ट्रिय प्रसारण लाईनको विद्युत विस्तारका क्रममा रुख कटान गर्नाले तार लथालिङ्ग भएको टेलिकम कार्यालय नेचाका कर्मचारी वीरबहादुर राईले बताए ।
उनले भने, ‘कतियप तार रुखमा नै बाँधेर टाँगिएको थियो । राष्ट्रिय प्रसारण लाईन विस्तारका क्रममा ढालिएकाले तार भुईमा भmरेको हो । यो समस्या केही दिनमा नै समाधान गर्ने छौ ।’ नेपाल टेलिकम सल्लेरीलाई यसबारे जानकारी गराएको उनले बताए ।
गाउँको सम्पति मानेर सकेसम्म स्थानीय आफैँले तार व्यवस्थान गर्ने गरेको नेचाका रमेश बास्तोलाको भनाई छ । पटक पटक स्थानीयले सल्लेरीस्थित टेलिकमको कार्यालय र स्थानीय सरकारलाई ध्यानाकर्षण गराएपनि अहिलेसम्म व्यवस्थित हुन नसकेको नेचाका युवराज शर्माले गुनासो गरे । ५९ उपभोक्तालाई रहेको टेलिकमले द्रुत गतिको ईन्टरनेट सेवा प्रदान गर्न नसकेको उनीहरुको गुनासो छ ।
गाउँपालिकाका प्रबक्ता धर्मध्वज खत्रीले पहिलाको तुलानामा सुधार भएको तर उपभोक्ताको माग अनुसार व्यवस्थापन र सेवा चुस्त हुन नसकेको बताए । उनले भने, ‘बजार क्षेत्रमा तार र पोलको व्यवस्थापन ठिक छ तर गाउँगाउँमा व्यवस्थापन फितलो देखिएको छ ।
सल्यानमा फोरलेग टावर
नेचासल्यान गाउँपालिका २ सल्यान स्थित थामडाडामा नेपाल टेलीकमले फोरलेग टावर निर्माण गरेको छ ।
नेचासल्यानका नागरिकलाई भरपर्दो दुरसञ्चार सेवा प्रदान गर्नका लागि फोर जि सेवा सञ्चालन हुने गरि टावर निर्माण गरिएको हो ।
टावर निर्माण गरिएपनि उपकरण जडानको काम बाँकी रहेको टेलिकम सल्लेरीले जनाएको छ ।