विराटनगर – प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जिल्ला अस्पतालहरुले परिणाम देखिनेगरि काम गर्नुपर्ने बताए । उनले अस्पतालहरुले विस्तार गरेको सेवाका बारेमा स्थानीयले थाहा पाउने गरि काम गर्न समेत निर्देशन दिए ।
प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा आज भएको प्रदेश स्तरिय अस्पतालहरुको बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठिमा मन्त्री घिमिरेले जिल्ला अस्पतालहरुलाई प्रदेश सरकारले उल्लेखनिय बजेट दिएकाले परिणाम पनि सोही अनुसार देखिनुपर्ने बताए । मन्त्री घिमिरेले स्थानीयले सेवा सुलभ भएको अनुभुति गर्नुपर्ने उनको भनाई छ ।
चालु आर्थिक बर्षमा मात्र जिल्ला अस्पतालहरुलाई ७ करोड देखि ३५ करोड सम्म बजेट प्रदेश सरकारले उपलब्ध गराएको उनले जानकारी गराए । पछिल्लो अढाई बर्षमा अस्पतालहरुले जनशक्ति, यन्त्र उपकरण र पूर्वाधारमा गरेको प्रगतिको समीक्षा हुन आवश्यक रहेकोमा जोड दिए ।