सोलुखुम्बु – माथिल्लो सगरमाथाका तिन जिल्ला सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा आलु मुल्य आकासिएको छ ।
आलु उत्पादन हुने सिजनमा डढुवा रोग लाग्नाले आलु उत्पादन घटेपछि तिनै जिल्लामा आलुको मुल्यमा अहिले सम्मकै बृद्धि भएको हो ।
सोलुखुम्बुमा विगतका वर्षको यो समयमा प्रतिकेजि ४० देखि ७० रुपैँयासम्म पर्ने आलु अहिले प्रतिकेजि १ सय रुपैँया रहेको व्यापारी प्रेमकुमार राईले बताए । राईका अनुसार कृषकले नै महंगो मुल्य तोक्ने भएकाले बजार मुल्य पनि बढेकोे हो ।
जिल्लाको आठ वटै स्थानिय तहमा आलु उत्पादनमा गिरावट आएपछि मुल्यमा बृद्धि भएको किसानको भनाई छ ।
उता, ओखलढुंगामा अघिल्लो वर्ष प्रतिकेजी ५० रुपैँयामा किनबेच भइरहेको आलु यसवर्ष १ सय २० रुपैयाँ प्रतिकेजी बिक्री भइरहेको छ ।
जिल्लाको २ हजार मिटरभन्दा माथिका लेकाली क्षेत्रमा उत्पादन गरिँदै आएको बुङको आलु कम फलेपछि माग अनुसारको आलु स्थानीय बजारमा पाइन छाडेको सहकर्मी नबराज कार्कीले बताए ।
त्यस्तै, खोटाङ जिल्लामा पनि आलुको मुल्यमा बृद्धि भएको छ । विगतका वर्षमा यो सिजनामा प्रतिकेजि ५० रुपैँया पर्ने आलु यो वर्ष ९० देखि एक सय रुपैँया प्रतिकेजि पुगेको सहकर्मी दिलिप खत्रिले बताए ।
गएको बर्ष निरन्तर पानी परेकाले आलु उत्पादनमा गिरावट आएको बताइएको छ ।