कोदोको महत्व र नेपालमा यसको संभावना

  बबि बस्नेत  174 पटक हेरिएको

बबि बस्नेत
कृषि ज्ञान केन्द्र, सोलुखुम्बु
कोदो नेपालको चौथो मुख्य बालि हो भने पहाडी क्षेत्रको मकै पछिको दोस्रो मुख्य बालि हो। यसलाई गरिबको खाना पनि भनिन्छ किनकि यसको खेति कम मलिलो तथा सुख्खा जग्गामा पनि गर्न सकिन्छ र पहाडि भागमा कम खर्चमा खेती गर्न सकिन्छ।कोदोबाट ढिडो रोटी, सातु, लिटो, खोले, पुवा लगायत अन्य परिकार बनाएर खान सकिन्छ। खाद्य सुरक्षाको दृष्टिकोणले त झन यो ज्यादै महत्वपूर्ण बालि हो। भाते बानिको संस्कृति हुर्केको हाम्रो गाउँ समाजमा कोदोलाई नेपालिहरुको भान्छामा पनि कम महत्व दिने गरेको पाईन्छ।

तर हालका दिनहरुमा यस सम्बन्धि जनचेतना अभिवृद्धि, कोदो भन्दा अरु खाद्यान्न महंगो तथा स्वास्थको दृष्टिकोणले कोदो लाभदायक भएकोले यसको महत्व तथा उपयोगिता दिन प्रति दिन बढ्दै गईरहेको छ। यो मधुमेह बिरमिको लागि पनि उपयुक्त अन्नबालि हो।पोषणतत्वको कुरा गर्ने हो भने यसमा क्यालसियम, कार्बोहाईड्रेड, प्रोटिन चिल्लो पदार्थ, थाईमिन तथा रेशादार बस्तु पाईन्छ। कोदोमा चामल र मकैभन्दा ३५ गुणा अनि गहुँभन्दा ८ गुणा बढि क्यालसियम पाईन्छ।मैथिलीमा मडुवा, नेवारीमा डुसी, अंग्रेजीमा मिलेट भनिने कोदो प्रोटिन, भिटामिन, ऊर्जा तथा खनिजको प्रमुख स्रोत हो। यसलाई भविष्यको स्मार्ट खानासमेत भनिएको छ।

सामान्य स्वस्थ व्यक्ति मात्र नभई बालबालिका, गर्भवती, मधुमेह, रक्तचापका बिरामीलाई समेत कोदो खानाले उल्लेख्य फाइदा पुग्ने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको छ। केटाकेटी बुढाबुढी र सबैका लागि कोदोको रोटि र ढिडो सजिल्लै पच्ने भएकोले यो स्वस्थ्यवर्धक पनि छ।धार्मिक हिसाबले हेर्ने हो भने नेवार, गुरुङ, तामाङ लगायतका जनजातिहरुको पूजाआजा चाडपर्वमा यसको प्रयोग हुन अनिवार्य छ।स्थानिय रुपमा तयार गरिएका शुद्ध जाड तथा रक्सि धेरै नेपाली तथा विदेशीहरुले मिठो मानेर पिउने गर्छन। बजारमा पाईने मदिरा भन्दा सस्तो र स्वादिलो हुने भएकाले पनि होला मानिहरु कोदोको रक्सि भनेपछि हुरुकै हुने गर्दछन्।

कतिपयले त साथिभाई ईष्टमित्रलाई कोशेलिको रुपमा लग्ने गरेको पनि पाईन्छ। आजभोलि त काठमाण्डौका तारे होटल देखि राजमार्गका रेष्टुरा तथा रिसोर्ट र हिमाली क्षेत्रका होम स्टेमा दरिलो स्वागतको रुपमा कोदाको विभिन्न परिकार जाँड तथा रक्सिको प्रयोग हुन थालेको छ। यसबाट बियर पनि तयार हुन्छ।कोदोको नल पशुको लागि राम्रो घाँस पनि हो। यो हरियो तथा सुकाएको दुवै रुपमा प्रयोग गर्न सकिन्छ।

कोदो तराईदेखि उच्च पहाडी क्षेत्रसम्म जुनसुकै जलवायुमा पाइन्छ।कोदोको सन्तुलित उपयोगले राम्ररी पोषित भएर स्वस्थ रहन सघाउँछ। पहिले नहुनेले कोदो खाने गरे पनि आजकल हुनेले खान थालेको अवस्था छ। नेपाली समाजमा कोदोको उपयोगलाई कुनै बेला गरिबीको प्रतीकसमेत मान्ने गरिएको थियो।यसलाई कुअन्न मान्ने परम्पराले गर्दा यसको गुण अपहेलित हुँदै आएको छ।नेपालीको खाने चलनमा मुख्य भात नै भएको र यसैमा अत्याधिक निर्भर रहने भएकोले नसर्ने रोगको वृद्भिमा समेत यसले सघाइरहेको छ।

यसमा प्रशस्त मात्रामा पोलिफेनल्स, टयानिन, फाइटोस्टेरोल्स लगायतका फाइटोकेमिकल्स पाइन्छन्।यो एन्टिअक्सिडेन्टले समेत परिपूर्ण हुन्छ। मानिसलाई ज्ञात भएसम्म सबैभन्दा पुरानो खाद्य पदार्थमध्ये एक कोदो खाद्य र पोषण सुरक्षाको दृष्टिले महत्त्वपूर्ण भए पनि सरकार र राज्यले खासै महत्त्व दिएको छैन ।

अफ्रिकातिर कोदोलाई सातुजस्तै फिटेर खाने चलन छ। हाम्रो मुलुकमा पनि यसरी कोदोको उपयोग गरिँदा यसले थप स्वास्थ्यसम्बन्धी फाइदा मिल्न सक्छ।बालबालिकाका लागि बनाइने लिटोमा कोदोको उपयोग गर्दा उनीहरूको विकासका लागि थप टेवा पुग्ने गर्छ। खासगरी गर्भवतीले क्याल्सियमको चक्की खानुको सट्टा दुईटा कोदोका रोटी खाए पुग्छ।स्तनपान गराउनेहरूका लागि समेत यो दूध बढाउने आधार बन्छ। भारतमा कोदोको पापड, भुजिया, स्पागेटी, नुडल्स आदि बनाउन थालिएको छ।कोदोमा अरू पिठो मिसाएर बिस्कुट, पाउरोटी, केक, शिशुका लागि खाद्य पदार्थजस्ता विभिन्न परिकार बनाउन थालिएको छ । यसमा प्रशस्त मात्रामा पोलिफेनल्स, टयानिन, फाइटोस्टेरोल्स लगायतका फाइटोकेमिकल्स पाइन्छन्।यो एन्टिअक्सिडेन्टले समेत परिपूर्ण हुन्छ। मानिसलाई ज्ञात भएसम्म सबैभन्दा पुरानो खाद्य पदार्थमध्ये एक कोदो खाद्य र पोषण सुरक्षाको दृष्टिले महत्त्वपूर्ण भए पनि सरकार र राज्यले खासै महत्त्व दिएको छैन ।

इन्डियन इन्स्टिच्युट अफ मिलेट रिसर्च (आईआईएमआर्), हैदरावाद, भारतको तथ्यपत्रअनुसार कोदोबाट धेरै लाभ लिन सकिन्छ।महामारीसम्बन्धी अध्ययनहरूले के देखाएका छन् भने, कोदोको उपयोगले मुटु रोगको जोखिम कम हुन्छ, मधुमेहबाट जोगाउँछ, पाचन प्रणालीमा सुधार ल्याउँछ, क्यान्सरको जोखिम कम गर्छ, शरीरको शुद्घीकरण गर्छ र विषाक्तता हटाउँछ।श्वासप्रश्वासको स्वास्थ्यसम्बन्धी प्रतिरोधक क्षमता बढाउँछ, ऊर्जास्तरमा वृद्घिसँगै मांशपेशी र नशासम्बन्धी प्रणालीमा सुधार ल्याउँछ।म्याग्नेसियम अत्यधिक हुने भएकाले यसले विशेष रूपले रक्तचाप कम गर्न, एथेरोस्केलेरोसिसमा मुटुको स्ट्रोकको जोखिमलाई न्यून गर्न सघाउँछ।

यसले केही प्रकारका क्यान्सर र मुटु रोगबाट समेत जोगाउँछ । कोदोमा उच्च मात्रामा पाइने रेशाले कोलेस्ट्रोल कम गर्नसमेत सघाउँछ ।यसले एलडिएल कोलेस्ट्रोललाई कम गर्नुको साथै एचडीएल कोलेस्ट्रोलको प्रभावलाई बढाउँछ। मधुमेह हुनबाट जोगाउन कोदोको उपयोग अत्यन्त फाइदाजनक देखिएको छ।यसमा भएका फाइबर, म्याग्नेसियम, भिटामिन–ई, फेनोलिक यौगिक र टयानिनले मधुमेहको खतरालाई कम गर्छ। किनभने यिनले रगतमा ब्लड ग्लुकोज र इन्सुलिनको स्तरको एक्कासि वृद्घिलाई मन्द पार्छ।पाचनसम्बन्धी विकारमा समेत कोदो उपयोगी मानिएको छ।यसले गर्दा ग्यास्ट्रिक अल्सर र कोलोन क्यान्सरको सम्भावनामा समेत कमी आउँछ।

यसमा भएको रेसाले कब्जियत, अत्यधिक ग्यासलाई दूर गर्छ ।यो रेसाले गहुँ र मकैको आटा सेवन गर्नेहरूको दाँजोमा इसोफेजियल क्यान्सर हुने सम्भावनामा समेत कमी ल्याउँछ ।कोदोको नियमित उपयोगले क्यान्सरको जोखिमलाई समेत कम गर्न सक्छ। यो फेनोलिक एसिड, टयानिन र फाइलेट प्रशस्त भएको खाद्यपदार्थ हो।हालै गरिएको अध्ययनले रेसाले महिलामा स्तन क्यान्सरको सम्भावनालाई कम गर्छ।दिनहुँ ३० ग्राम रेसा उपयोग गरेर स्तन क्यान्सरको सम्भावना ५० प्रतिशतसम्म कम गर्न सकिन्छ। कोदोमा भएका उपयोगी तत्त्वहरूले विभिन्न क्यान्सरको जोखिममा कमी ल्याउँछन्

कोदो खाँदाका फाइदा
 मुटु रोग लाग्न दिँदैन
 एन्टिअक्सिडेन्ट गुण हुन्छ
 हाड बलियो बनाउँछ
 बालबालिकाको हाड र दाँतको विकासमा सघाउँछ
 नराम्रो कोलेस्ट्रोल घटाउँछ
 शरीरको विषाक्तता बाहिर निकाल्छ
 पाचनतन्त्रलाई तन्दुरुस्त राख्छ
 रगतको कमी हुन दिँदैन
 कब्जियत हुन पाउँदैन
 टाइप २ मधुमेहबाट जोगाउँछ
 स्तन क्यान्सर हुन दिँदैन
 शारीरिक तौल नियन्त्रित राख्छ
 रक्तचाप घटाउन प्रभावकारी हुन्छ
 मृगौला र कलेजोको रोग लाग्न दिँदैन
 रोगप्रतिरोधी क्षमता बढाउँछ
 फलफूल र सागसब्जी जतिकै पोषक हुन्छ
 ऊर्जाको राम्रो स्रोत हो
 पित्त थैलीमा पत्थरी हुन दिँदैन
 मीठो निद्रामा सघाउँछ
 छाला चम्किलो बनाइराख्छ
 घाउ छिटो भरिन सघाउँछ
 आमाको दूध बढाउँछ
 मोटाहरूका लागि उपयोगी हुन्छ
 कुपोषण हुन दिँदैन
 सिलिएक रोग वा ग्लुटेन एलर्जीबाट पीडितहरूका लागि उपयोगी हुन्छ

वर्तमान अवस्था

नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि।मि। रहेको छ। उक्त क्षेत्र मध्य हिमाली क्षेत्र ५१,१८७ वर्ग कि.मी. ९३५.०५०, पहाडी क्षेत्र ६१,३४५ वर्ग कि.मी. ९४२.०५० र तराई क्षेत्र ३४०१९ वर्ग कि.मी. ९२३.०५० रहेको छ। भु-उपगको दृष्टिकोणले जम्मा खेती गरिएको क्षेत्रफल ३०९१००० हेक्टर र खेती नगरिएको खेति योग्ग जमिन १०३०००० हेक्टर रहेको छ। कुल जनसंख्याको कृषिमा संलग्न जनसृंख्या ६५.६५ प्रतिशत रहेको छ। माथिको तथ्याङ्गलाई हेर्ने हो भने कृषिमा दुई तिहाई जनसंख्या आश्रित भएको देखिए पनि खाद्यान्नमा नेपाल परनिर्भर नै छ।

आ.व. २०७४/७५ लाई हेर्ने हो भने २ लाख ६३ हजार ४ सय ९७ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको छ भने ३ लाख १३ हजार ९८ सय ७ मेट्रिक टन कोदो उत्पादन भएको छ जसको उत्पादकत्व १.१९ रहेको छ।कोदो खेति गर्दा धेरै जसो स्थानिय जातहरुको प्रयोग हुने भएकोले उन्नत जातहरुको तुलनामा उत्पादकत्व कम छ। नेपालको कुल जनसंख्या मध्य झण्डै आधा जनसंख्या पहाड तथा उच्च पहाडमा बस्छन् र तिनिहरुको मुख्य खाना पनि कोदो रहेको छ। कोदो परम्परागत रुपमा खेति गरिने पहाडको एक महत्वपूर्ण बालि हो। त्यस्तै २५ प्रतिशत घर परिवारले दैनिक रुपमा कोदोको खेति हुन्छ। उन्नत जात र उन्नत प्रविधिको प्रचार प्रसारमा बढावा दिन सके खाद्य तथा पोषण सुरक्षाको लागि ठुलो टेवा पुग्नेछ।

जसले यो समस्याको हल गर्न सक्छ। सानै देखि भात मात्रै खाने परम्पराले आजभोलि कोदोका परिकारहरु नरुचाउनु र रुढिवादि संस्कारको कारण कोदोलाई हेला गर्ने प्रचलन बढेको छ जुन एकदमै गलत हो। यसमा रहेका खाद्यतत्व र फाईदाजनक पक्षहरुको बारेमा जनचेतना वृद्धि गरि प्रचार प्रसार गर्न र खानेबानिको व्यवहारमा विविधिकरण गरि नयाँ पुस्ता सबै कोदाको परिकारतर्फ आकर्षित हुन सक्दछन्।

संभावना
कोदो एक सुख्खा सहन सक्ने बाली हो र नेपालमा आकाशे पानिको भरमा यसको खेति गरिन्छ।यसको खेति समुन्द्रबाट २३०० मिटर उचाईसम्म खेती गर्न सकिन्छ। नेपाल पहाडी क्षेत्र बढि भएको देश हो। यहाँ धेरै फाँट तथा टारहरु छन्। यी क्षेत्र कोदो खेतीका लागि उपयुक्त क्षेत्र हुन्।यि टारहरुमा राम्रोसँग कोदो खेती गर्न सकेमा प्रशस्त मात्रामा उत्पादन वृद्धि गर्न सकिन्छ।धान मकै जस्ता बालिहरु असिंचित क्षेत्रमा राम्रोसँग उत्पादन हुन नसक्ने भएकोले त्यस्ता क्षेत्रमा कोदो राम्रोसँग गर्न सकिन्छ।

यो कम लागतमा उत्पादन हुन सक्ने भएको हुदाँ विपन्न कृषकको लागि यो बालि उपयुक्त छ।खाद्य सुरक्षाको दृष्टिकोणले पनि यो ज्यादै महत्वपूर्ण बालि हो।नेपालमा जनसंख्याका हिसाबले पहाडी तथा उच्च पहाडी क्षेत्रहरुमा ब्राहमण, क्षेत्री, गुरुङ, मगर, लामा, शेर्पा, राई, लिम्बु, तामाङ जातिहरुको बाहुल्यता रहेको पाईन्छ।यहाँका मध्य तथा उत्तरी क्षेत्रका मानिसको मुख्य खाना कोदो नै हो र यसले धेरै मानिसको प्राण भर्ने काम गरिरहेको छ।एकातिर उच्च पहाडी क्षेत्रहरुमा वर्षेनी ठुलो धनराशी खर्च गरी चामल ढुवानि भईरहेको छ र जुन सहज र सुलभ रुपमा सबैले प्राप्त हुन कठिन भैरहेको छ। यो दिगो उपाय पनि होइन। तैपनि राज्यको दाइत्व त्यी क्षेत्रका जनतालाई स्थानिय तहमा खाद्यान्न उत्पादन वृद्धि गरेर आपुर्ति गर्ने वा बाहिरवाट खाद्यान्न ढुवानी गरी आपुर्ति गर्न पर्यो।त्यसैले दिगो उपायका लागि पहाडी क्षेत्रमा स्थानीय तहमा उत्पादन हुन सक्ने कोदो मकै जौ फापर आदिको उपयुक्त अनुसन्धान र विकासनै हो।यो मध्य कोदो पनि एक महत्वपूर्ण बालि हो ।

जसले यो समस्याको हल गर्न सक्छ। सानै देखि भात मात्रै खाने परम्पराले आजभोलि कोदोका परिकारहरु नरुचाउनु र रुढिवादि संस्कारको कारण कोदोलाई हेला गर्ने प्रचलन बढेको छ जुन एकदमै गलत हो। यसमा रहेका खाद्यतत्व र फाईदाजनक पक्षहरुको बारेमा जनचेतना वृद्धि गरि प्रचार प्रसार गर्न र खानेबानिको व्यवहारमा विविधिकरण गरि नयाँ पुस्ता सबै कोदाको परिकारतर्फ आकर्षित हुन सक्दछन्। जसले गर्दा स्थानिय बालिको पनि सदुपयोग र खाद्य असुरक्षा सम्बन्धी समस्या पनि समाधान हुन सक्छ।त्यस्तै राजमार्ग वरिपरि रहेका विभिन्न होटल तथा रिसोर्टहरुमा स्थानिय खानाको रुपमा कोदोको ढिडो रोटि अर्गानिक तरकारी लोकल कुखुराको मासु तथा कोदाको लोकल रक्सिले बसमा यात्रु तथा पर्यटकलाई स्वागत गर्न सकेमा उपभोक्ताहरु पनि सन्तुष्ट हुने र पर्यटन व्यापार पनि फस्टाउनउ हुँदा कृषकको आम्दानि वृद्धि हुने तथा रोजगारिको अवसर पनि बढ्नेछ।

सरकारको तर्फबाट पनि यसको उत्पादन वृद्धिका लागि कोदो प्रवर्धन कार्यक्रम ल्याउन जरुरि देखिन्छ।त्यस्तै क्षेत्रफलका हिसाबले पकेट ब्लक संचालन समिति बनाएर कृषकलाई सहुल्यत दरमा बिउँ मल कृषि सामाग्री वितरण गर्न सके झनै राम्रो उत्पादन हुन सक्ने र कृषकको आयस्थितिमा समेत टेवा पुग्ने देखिन्छ।त्यसैले यस शुभ कार्यमा कोदो बालिको उत्पादन तथा प्रवर्द्धनमा काम गर्ने सबै सघंसस्था सरोकारवालाहरु बिच समन्वय र सहकार्य गरि अगाडि बढ्नु आजको आवश्यकता हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार