दिप्लीघाट मोटरेवल पुलको काम शुरु नहुनुमा कोरोना बाधक !

शिलान्यास मिति बर्ष पुग्नै लाग्यो

  हिमाल समाचार
1.1k Shares

सोलुखुम्बु – सोलुखुम्बुको दिप्लीघाट स्थित दुधकोशी नदिमा मोटरेबल पुल शिलान्यास गरिएको वर्ष दिन पुग्न लाग्दा समेत निर्माणको काम शुरु भएको छैन् ।

२०७६ सालको पुष १२ गते सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका र कोशी पारिको क्षेत्र सोताङ र महाकुलुङ गाउँपालिकामा सडकको सहज पहँुच जोड्न निर्माण गरिने मोटरेबल पुलको शिलान्यास गरिएपनि स्थलगत रुपमा काम शुरु हुन नसकेको हो ।

३ बर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी महादेब खिम्ती हिराचन जे.भि.ले भ्याट सहित १० करोड १८ लाख १९ हजार ७ सय २९ रुपैयामा जिम्मा लिएको भएपनि हालसम्म कामै थालिएको छैन् ।

२०७६ सालको पुष १२ गते पुलको शिलान्यासमा सहभागी बन्दै सोलुखुम्बुका जनप्रतिनिधिहरु

जिल्लाका जनप्रतिनिधिको टोलीले तामझामका साथ शिलान्यास गरिएको मोटरेबल पुलको कोरोनाका कारण अघि बढ्न नसकेको निर्माण कम्पनी सञ्चालक रबी सिंहले बताए । दशै लगतै नदि किनारमा गिटि कुट्ने काम सुरु गरिएको संचालक सिंहको भनाई छ ।

कोरोना महामारीका कारण सामान निर्माणस्थलमा लैजान नसकिएको र प्रशासनले समेत महामारीका बिच निर्माण काम अघि नबढाउन आग्रह गरेपछि कामको थालनीमा ढिलासुस्ती भएको निर्माण कम्पनीको जवाफ छ ।

कोरोना महामारीका कारण अब काममा अवरोध नआए यस वर्ष पुलको दुवै तर्फ पिल्लर राख्ने काम सकिने उनको दाबी छ । गिटि कुट्ने काम सकेपछि फाउण्डेसन निर्माणको काम थाल्ने बताइएको छ ।

अहिले दुधकोशी नदीमा बेलिब्रिजको सहायताले कोशी पारिका क्षेत्रमा यातायात सञ्चालन भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार