सोलुमा ‘सियूजी पाठशाला’ नयाँ कार्यक्रम

  हिमाल समाचार
1.5k Shares

सोलुखुम्बु – कोरोना कहरका बिचमा पनि शैक्षिक क्रियाकलापलाई सक्रिय राख्न सोलुदुधकुण्ड नगरपालिका २ बेनीमा ‘सियूजी पाठशाला’कार्यक्रम शुरु गरिएको छ ।

वडा कार्यालयको नेतृत्वमा शुरु भएको यो कार्यक्रममा अभिभावकलाई नेपाल टेलिकमले वितरण गर्ने सियूजी सिम उपलब्ध गराइनेछ । सो सिमलाई उपयोग गरि विद्यार्थीको सिकाइलाई शिक्षकले अनुगमन तथा सिकाइमा सहजीकरण गर्नेछन् ।

सो सिम मासिक रुपमा एक्टिभ गर्नका लागि अभिभावकले न्यूनतम ९९ रुपैँया रिर्चाज गर्नुपर्नेछ । रिचार्जपछि एकै सर्कलका सियूजी सिममा अनलिमिटेड कल गर्न पाउनेछन् । ५ जिबी डाटा, एसएमएस सुविधा पनि प्राप्त गर्नेछन् । सियूजी खरिदका लागि वडाले प्रति सिम १२९ रुपैँया खर्चेको छ ।

वडामा कोरोना संक्रमितको संख्या बढ्दै गए वा विद्यालयमा विद्यार्थी उपस्थितीका लागि अवस्था कठिन हुदै गएमा सियूजी सिमबाट सिकाइ क्रियाकलापलाई अघि बढाइने जुनवेशी माविमा प्रध्यानाध्यापक भरत कुमार नाछिरिङले बताए ।

बुधबार मात्रै ७५ जना अभिभावकलाई सियूजी सिम वितरण गरिएको छ । अन्यलाई पनि वितरण गर्दै जाने प्रध्यानाध्यापक नाछिरिङको भनाई छ ।

उनले भने, ‘कोरोना कहरका कारण विद्यार्थीहरु विद्यालय आउन सक्ने अवस्था नरहे सियूजी सिमको प्रयोग गरेर शिक्षकले घरमा रहको विद्यार्थीको सिकाइमा सहजीकरण गर्नेछन् ।’ यसअघि बेनीमा ४ जनामा कोरोना संक्रमण देखिएपछि आएको अवधारणालाई वडाको सहयोगमा कार्यान्वयनमा ल्याएको उनले बताए ।

अब जस्तो सुकै परिस्थितीमा पनि सिकाईलाई नरोक्ने तयारी स्वरुप सियूजी सिमको अवधारणा कार्यान्वयनमा ल्याएको वडाअध्यक्ष मिंमारदोर्जी शेर्पाले जानकारी दिए । उनले भने, ‘महामारीको समयमा सिकाइ क्रियाकलापलाई निरन्तरता दिने उत्तम विधि ठानेका छौँ ।’

कोरोना संक्रमणको अवस्था हेरि वडाका सम्पुर्ण विद्यालयमा ‘सियूजी पाठशाला’लाई लागु गर्ने मनस्थितीमा पुगेको वडाअध्यक्ष शेर्पाको भनाई छ । ‘यो अवधारणा कार्यान्वयनमा ल्याउने जिल्लाकै पहिलो वडा हौँ ।’ उनले भने ।

उद्यपी, मंसिर ३ गतेबाट बेनी क्षेत्रका विद्यालयमा संचालनमा आउनेछन् । संक्रमण फैलिएर ‘सियूजी पाठशाला’ कार्यक्रमलाई एक्टिभ गराइहाल्ने तयारीमा वडा कार्यालय देखिएको छ । अधिकांश विद्यालयले नेपाल सरकार जारी गरेको एकिकृत सिकाइ सहजीकरण पुस्तिकालाई आधार मानेर शिक्षण गराउदै आएका छन् ।

फोटो – वडाअध्यक्ष

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार