रावाबेसी गाउँपालिका : कृषकलाई बिउबिजन र कृषि सामग्री वितरण

 

सोलुखुम्बु – खोटाङको रावाबेशी गाउँपालिकाले कृषकलाई बिउबिजन र कृषि सामग्री वितरण गरेको छ । गाउँपालिकाको सहजीकरण र प्रयास नेपालको आर्थिक सहयोगमा शुक्रबार गाउँपालिकाको ६ वटै वडाका कृषक समुहलाई ३ हजार ७२० केजी गहुंको बिउ र कृषि सामग्रीहरु वितरण गरिएको गाँउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताए ।

लेकाली भेगमा उत्पादन हुने ३२० केजी र बेंशी क्षेत्रमा उत्पादन हुने ३ हजार ४ सय केजी गहुंको बिउ कृषक समुहलाई गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले वडा–वडामा पुगेर वितरण गरेका हुन् ।

हौंचुरका कृषक समुहलाई ९ सय केजी, डुम्रेधारापानीका कृषक समुहलाई ८५० केजी, कुभिण्डेका कृषक समुहलाई ८ सय केजी, दुवेकोलका कृषक समुहलाई ७५० केजी, लामिडाँडाका कृषक समुहलाई ४० केजी र खार्पाका कृषक समुहलाई ३८० केजी गहुंको बिउबिजन वितरण गरिएको गाँउपालिकाका कृषि प्राविधिक उद्धव बास्तोलाले बताए

यस्तै, ६ वटै वडालाई एक÷एक वटा धान, गहुं कोदो कुट्नका थ्रेसर मेसिन तथा डुम्रेधारापानी र हौंचुरलाई मकै छोडाउने मेशिन पनि आजै वितरण गरिएको छ । अन्य वाँकी वडालाई ३ मंसिरमा वितरण गरिनेछ ।

उन्नत जातको बाख्रा उत्पादनका लागि कुभिण्डे, डुम्रेधारापानी, दुवेकोल, हौंचुरका कृषकका लागि बोयर जातको बोका आइसकेको र बाँकी वडाका लागि ५ मंसिरभित्र आइपुग्ने र वितरण गर्ने निर्णय भएको सहकर्मी प्रेम श्रेष्ठले जानकारी दिए ।

यसैगरी, गाउँपालिका भित्रका वजार व्यवस्थापन समितिलाई ३ सय वटा ग्रेड र १२० वटा कृषक समुहलाई बीउ भण्डारणका लागि किटनाशक झोला र खशी बोका तौलनका लागि जोख्ने मेशिन पनि तिहारपछि वितरण गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार