सोलुखुुम्बु – केही नेवार समुदायले आज (मङ्गलबार) भाइटीका लगाउँदै छन् । हिजो (साेमबार) म्हः पूजा गरेका नेवार समुदायले आज भाइटीका लगाउने भएका हुन् ।
आइतबार म्हः पूजा नगरेका नेवार समुदायले हिजो म्हः पूजा गरेका हुन् । म्हः पूजा गर्न नेवार समुदाय विभाजित भएका हुन् । नेपाल सम्वतकै दिन आत्मा पूजा गर्नेले हिजो र अरू केहीले अस्ति बेलुका म्हः पूजा गरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
हिजो नेपाल सम्वतको नयाँ वर्ष ११४१ मनाएर आत्मा पूजा गर्नेले आज भाइटीका लगाउँदैछन् । किजा पूजाका लागि सरकारले आज सार्वजनिक बिदा दिएको छ । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्मा पूजा गर्ने परम्परा शास्त्रीय भएको समितिका सदस्य कीर्तिमदन जोशीले बताए ।
कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहारको मुख्य दिन हिजो दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । दिदीबहिनी नहुनेका लागि काठमाण्डौको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज पनि खुलेको छ । नेवार समुदायको भाइटीका (किजापूजा) का लागि सरकारले आज पनि देशभर सार्वजनिक बिदा दिएको छ ।