सोलुखुम्बु : शिक्षक र विद्यार्थी मिलेर परिचर कुटेको आरोप

  हिमाल समाचार
10.6k Shares

सोलुखुम्बु – सोलुखुम्बुमा शिक्षक र विद्यार्थी मिलेर एक विद्यालयका परिचर कुटेको आरोप लागेको छ ।

सोलुदुधकुण्ड नगरपालिका ५ मा संचालित जनजागृति माध्यमिक विद्यालयका शिक्षक नारायण प्रसाद पाण्डे र सोहि विद्यालयमा अध्ययनरत विद्यार्थी मनोज चौबेले विद्यालयका परिचर कुमार कार्की माथि कुटपिट गरेको आरोप लागेको हो ।

शिक्षक पाण्डे र विद्यार्थी चौबेले सुकाएको मुला बाख्राले खाएको निहूँमा आफ्ना श्रीमानलाई मरणासन्न कुटपिट गरेको उनकी श्रीमती मित्रा राईले आरोप लगाएकी हुन् ।

उनले भनिन्, “कार्तिक ३० गते दिउँसो नारायण सरले सुकाएको मुला बाख्राले खाएछ, त्यहि रिसले मेरो श्रीमानलाई नारायण सर र उनका साला पर्ने विद्यार्थी चौबेले कुटेका हुन् । बाटो हिड्ने मान्छेले मलाई खबर गरेपछि म घट्नास्थलमा पुगे । म घट्नास्थलमा पुग्दा नारायण सरले मेरो श्रीमानलाई समातेका थिए भने विद्यार्थीले कुटिरहेका थिए ।” कुटपिटबाट गम्भिर घाइते भएका कुमार कार्कीलाई जिल्ला अस्पताल फाप्लुमा उपचार संभव नभएपछि काठमाण्डौ पठाइएको छ ।

आरेपित भनिएका शिक्षक नारायण प्रसाद पाण्डेले भने यो घट्नामा आफ्नो संलग्नता नरहेको बताएका छन् । विद्यार्थी र परिचरबिच झगडा भएको र आफुले छुट्ट्याउने कोशिस मात्र गरेको उनले बताए । परिचरले मादक पदार्थ सेवन गरि अपशब्द बोलेपछि विद्यार्थी र परिचरबिच झगडा भएको र आफुले झगडा नगर्न आग्रह गर्दागर्दै झगडा भएको बताउदै शिक्षक पाण्डेले आफू कुटपिटमा संलग्न नभएको बताए ।

घाईते कार्कीका श्रीमती मित्रा राईले घटना बाहिर नल्याउन विद्यालय प्रसाशनले दबाब दिएको समेत आरोप लगाएकी छिन् । तर विद्यालयका प्रध्यानाध्यापक मानबहादुर कार्कीले भने मिलेरै जान सुझाव दिएको तर घटना दबाबउने पक्षमा आफू नउभिएको प्रतिक्रिया दिए ।

जिल्ला प्रहरी कार्यालयले कुटपिटमा संलग्न विद्यार्थीलाई सोही दिन नियन्त्रणमा लिएको भएपनि उपचार गर्ने सहमति भएपछि छाडिएको जनाएको छ । तर पिडित पक्षले भने उपचार शुल्क बेहोर्ने विषयमा सहमति भएको बताएको छ । आफुले कुनै कागजमा हस्ताक्षर नगरेको र कारबाहीको दायरामा ल्याउनुपर्ने पिडक खुलेआम डुलिरहेको भन्दै गुनासो गरिन् ।

जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी महेन्द्र दर्नालले भने घटना अनुसन्धानमै रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार