काठमाण्डाै – सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ५ मा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ । करेन्ट लागेर परेमारा गाउँदेखि पूर्व धानखेतमा हात्ती मृत भेटिएको स्थानीय बच्चुलाल चौधरीले जानकारी दिनुभयो ।
सप्तरीको पूर्व पिप्रा धरमपुर घोघनपुर उपभोक्ता समितिका अध्यक्ष समेत रहेका चौधरीका अनुसार ११ केभीको विद्युत् प्रसारण लाइनको तारमा अल्झिएको अवस्थामा हात्ती मृत भेटिएको हो ।
कोशीटप्पु वन्यजन्तु आरक्षको जङ्गलबाट गाउँमा पसेको हात्ती मृत भेटिएको उहाँले बताउनुभयो । मरेको हात्तीलाई कानुनी प्रक्रिया पूरा गरेर मरेकै ठाउँमा गाड्ने तयारी भइरहेको कोशीटप्पु वन्यजन्तु आरक्षका सहायक वार्डेन सन्तोष भगतले जानकारी दिनुभयो ।