चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै अस्पताल तोडफोड

  हिमाल समाचार
280 Shares

काठमाण्डौं – चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै सिराहाको लहानस्थित एक अस्पतालमा तोडफोड गरिएको छ ।

सुखीपुर नगरपालिकाकी एक महिलाको शल्यक्रिया लापरबाही तरिकाले गर्दा सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले लहानस्थित डिभाइन अस्पतालमा तोडफोड गर्दै पूर्वपश्चिम राजमार्गमा समेत चक्काजाम गरेका छन् ।

प्रसूति गराउन शनिबार दिउँसो लहानस्थित डिभाइन हेल्थ केयर अस्पताल भर्ना भएकी सुखीपुर नगरपालिका वडा नम्बर ९ वैशाखाकी आरती साहको शल्यक्रिया गर्ने क्रममा मृत्यु भएको छ । मृतकका आफन्तका अनुसार शनिबार राति २७ वर्षीया साहको शल्यक्रिया गर्ने क्रममै मृत्यु भएको हो ।

उनीहरुका अनुसार चिकित्सकले लापरबाही गरेका कारण उनको मृत्यु भएको छ । महिलाको मृत्यु भएपछि शल्यक्रिया गर्ने चिकित्सकसहित अस्पतालका सञ्चालक र अन्य कर्मचारी पनि फरार भएका छन् ।

लापरबाहीले मत्यु भएको भन्दै आफन्तले अस्पताल तोडफोड गर्नुका साथै पूर्वपश्चिम राजमार्गमा बिहान २ घण्टा चक्काजाम गरेका छन् । बिहान ८ देखि १० बजेसम्म चक्काजाम गर्दा यातायात अवरुद्व भएको थियो ।

मृतकको शव शल्यक्रिया कक्षमै

चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै प्रदर्शनमा उत्रेका आफन्तले शव पनि उठाएका छैनन् । शव अहिलेसम्म शल्यक्रिया कक्षमै रहेको छ । लापरबाही गर्ने चिकित्सकलाई कारबाही नगरेसम्म शव नउठाउने मृतक पक्षको भनाइ छ ।

मृतकका पति प्रमोद साहले लापरबाही गरेरै आफ्नो श्रीमतीलाई मारेको भन्दै कारबाही नगरिएसम्म शव नउठाउने र आन्दोलन जारी रहने बताए ।

सुत्केरीको मृत्यु भएपनि जन्मिएको शिशु भने सकुशल रहेको र त्यो अस्पतालबाट शिशुलाई सप्तऋषि अस्पताल लगिएको छ ।

सिराहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माले घट्ना सम्बन्धमा अनुसन्धान भइरहेको बताए । उनले अस्पतालका सञ्चालक र शल्यक्रिया गर्ने चिकित्सक सम्पर्कमा नभएको बताए ।

प्रसुतिको मृत्यु भएको यो डिभाइन अस्पताल भने लामो समयदेखि नवीकरण नगरी सञ्चालन हुँदै आएको छ । दर्ताको म्याद सकिएको तीन महिनााभित्र नवीकरण गराइसक्नुपर्नेमा यो अस्पताल पछिल्लो नौ वर्षदेखि नवीकरणविना नै सञ्चालन हुँदै आएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार