प्रदेश नम्बर २ मा जसपाको संसदीय दलको नेता छान्ने प्रक्रिया अन्योलमा

  हिमाल समाचार
0 Shares

काठमाण्डौं – प्रदेश नम्बर २ मा सत्तारूढ जनता समाजवादी पार्टी नेपालले संसदीय दलको नेता चयन गर्न सकेको छैन। राजपा र समाजवादी पार्टी मिलेर जसपा बनेको थियो। उक्त पार्टी दर्ता भएको सूचना गत साउन १२ को राजपत्रमा प्रकाशित भएको थियो।

गत साउन ३० मा निर्वाचन आयोगले दल दर्ताका लागि प्रदेश सभामा पत्र पठाएको थियो। तर जसपाले संसदीय दलको नेता चयन अहिलेसम्म नगरेको हो। केही समयपहिले अध्यक्ष उपेन्द्र यादव जनकपुरधाम आएका बेला नेता चयन गर्नेबारे छलफल भएको थियो।

तर सहमति नभएपछि संसदीय दलकै विधान बनाउने गरी मस्यौदा समिति गठन गरिएको थियो। उक्त समितिमा मनिष सुमन, उपेन्द्र महतो, रानी शर्मा तिवारी, रामअशिष यादव थिए। यो समितिले कात्तिक १८ गते विधान मस्यौदा पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवलाई बुझाइसकेका छन्।

तर उक्त मस्यौदा पारित भई कार्यान्वयनमा आएको छैन। समितिका सदस्य रामअशिष यादवले विधानको मस्यौदा नेतृत्वलाई बुझाइएको बताए। ‘संसदीय दलको नेता छनोट छिटै हुन्छ,’ यादवले भने। उक्त मस्यौदालाई संसदीय दलको बैठकबाट पारित गरी नेता चयनको प्रक्रिया सुरू हुने पनि उनले जानकारी दिए। जसपा स्रोतका अनुसार दलको नेता बन्न आकांक्षी धेरै छन्।

मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जिनेन्द्र सोनल, प्रदेशसभा सदस्य उपेन्द्र महतो, मनिष सुमनलगायत आकांक्षी छन्। संसदीय दलको नेता नै मुख्यमन्त्री हुने भएकोले पनि दलको नेता छान्न कठीन भइरहेको जसपाका एक नेताले जिकीर गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार