राजस्व लक्ष्य पुरा हुने गरी काम गर्न सरोकारवाला निकायलाई अर्थमन्त्रीको निर्देशन

  हिमाल समाचार
0 Shares

काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षका लागि तोकिएको राजस्व लक्ष्य पुरा हुने गरी काम गर्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।

सोमबार अर्थ मन्त्रालयका सचिवहरू, आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक, भन्सार तथा आन्तरिक राजस्व कार्यालयका प्रमुखलगायत सरोकारवालासँग छलफल गर्दै यस्तो निर्देशन दिएका हुन् ।

चालु आर्थिक वर्षमा सरकारले १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । आइतबारसम्म २ खर्ब ४७ अर्ब राजस्व संकलन भएको छ ।

मन्त्री पौडेलले कोभिड-१९ ले सिर्जना गरेका चूनौतीको सामना गर्दै राजस्व संकलनको लक्ष्य पूरा गर्न कुनै सम्झौता नगर्ने उल्लेख गरे । उनले नियतवश त्रुटि, कमजोरी गर्ने र असल मनसायबाट बिचलित हुने कर्मचारीलगायत कसैलाई पनि नछाड्ने उल्लेख गरे ।

सरकारले डर, त्रास सिर्जना गरेर कर्मचारीहरुलाई काममा नलगाउने भन्दै अर्थमन्त्री पौडेलले योग्यता र क्षमताको कदर सहित काम गर्ने अनुकुल परिस्थिति सिर्जना गरिने आश्वासन समेत दिएका छन् ।

उनले भने ‘कठिनाइ र समस्याहरुलाई समाधान गर्न मन्त्रालयले सहयोग, सहजीकरण र प्रोत्साहन गर्छ, लक्ष्य पूरा भए हामी सम्मान गर्छौ, पूरा नभए तपाईँ दण्डित हुनुपर्छ ।’

अर्थमन्त्री पौडेलले समस्या र समाधानका बारे कर्मचारी जानकार रहेको भन्दै समस्या आˆनै तहमा समाधान गर्न र आवश्यकता परे मात्र नेतृत्व समक्ष आउन आग्रह गरे । अर्थमन्त्री पौडेलले परिणाम निकाल्ने गरी काम गर्नका लागि कर्मचारीको व्यक्तित्व विकास र क्षमता अभिवृद्धिमा विशेष जोड दिने उल्लेख गर्दै आपसी प्रतिष्पर्धा गरेर काम गर्न पनि अनुरोध गरे ।

भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा अर्थसचिव शिशिरकुमार ढुङ्नाले राम्रो काम गर्नेलाई मन्त्रालयले संरक्षण तथा पुरस्कृत गर्ने र कार्य सम्पादन कमजोर भए मन्त्रालय कठोर बन्ने बताए ।

उनले राजस्व लक्ष्य पूरा गर्न र त्यो भन्दा बढी परिणाम निकाल्न आवश्यकता अनुसार कार्यक्रम संशोधन र रणनीति बनाएर अघि बढ्न निर्देशन दिए ।

उक्त अवसरमा राजस्व सचिव रामशरण पुडासैनीले चुहावट नियन्त्रणमा विशेष ध्यान दिन आग्रह गर्दै लगानीलाई प्रोत्साहन गर्ने गरी काम निर्देशन दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार