गएकाे वर्ष ३ खर्ब ८४ अर्ब रुपैयाँ राजस्व उठ्याे, कर सङ्कलन लागत घट्यो

  हिमाल समाचार
0 Shares

काठमाण्डाै – गएको आर्थिक वर्ष २०७६/०७७ मा आन्तरिक राजस्व विभागले तीन खर्ब ८४ अर्ब ५३ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो रकम कुल लक्ष्यको १०१ दशमलव ९८ प्रतिशत हो । सुरुमा सरकारले ५ खर्ब ६ अर्ब १८ करोड रुपैयाँ राजस्वकाे लक्ष्य विभागलाई दिएको थियो तर कोरोना महामारीपछि सरकारले लक्ष्य घटाएर तीन खर्ब ७७ अर्ब रुपैयाँ कायम गरेको थियो ।

तीन खर्ब ७७ अर्ब रुपैयाँको लक्ष्य पाएको विभागले तीन खर्ब ८४ अर्ब ५३ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको हो । यो रकम आर्थिक वर्ष २०७५/०७६ को भन्दा ७ प्रतिशतले धेरै भएको विभागले जनाएको छ ।

कुन शीर्षकमा कति राजस्व उठ्यो ?

आन्तरिक राजस्व विभागले सुरुमा मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ तीन खर्ब १५ अर्ब रुपैयाँ उठाउने लक्ष्य पाएको थियो । विभागले दुई खर्ब ५५ अर्ब ९७ करोड रुपैयाँ भ्याट सङ्कलन गरेको छ ।

भ्याटमा पैठारीतर्फ एक खर्ब ९६ अर्ब ६२ करोड रुपैयाँ लक्ष्य रहेकोमा विभागले एक खर्ब ५७ अर्ब ८२ करोड रुपैयाँ सङ्कलन गरेको छ । आन्तरिकतर्फ एक खर्ब १८ अर्ब ३८ करोड रुपैयाँको लक्ष्य रहेकोमा ९८ अर्ब १४ करोड रुपैयाँ सङ्कलन भएको छ ।

यस्तै आयकरतर्फ आर्थिक वर्षको सुरुमा दुई खर्ब ४२ अर्ब ६२ करोड रुपैयाँको लक्ष्य रहेकोमा विभागले एक खर्ब ९२ अर्ब ८५ करोड रुपैयाँ सङ्कलन भएको छ । तर संशाेधित लक्ष्य भने एक खर्ब ८४ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो । संशाेधित लक्ष्यको तुलनामा १ सय ४ दशमलव ८ प्रतिशत आयकर सङ्कलन भएको विभागले जनाएको छ ।

अन्तःशुल्कतर्फ एक खर्ब ६९ अर्ब ९७ करोड रुपैयाँ सुरुको लक्ष्य रहेको थियो । यसमध्ये एक खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ । अन्तःशुल्कको पैठारीतर्फ ६३ अर्ब ६७ करोड रुपैयाँको लक्ष्य रहेकोमा ४८ अर्ब ११ करोड रुपैयाँ सङ्कलन भएको छ । आन्तरिकतर्फ एक खर्ब ६ अर्ब ३० करोड रुपैयाँको लक्ष्य रहेकोमा ६४ अर्ब ८४ करोड रुपैयाँ असुली भएको छ ।

कर सङ्कलन लागत घट्यो

सरकारले कर सङ्कलनमा खर्च हुँदै आएको लागत रकम घटाउँदै लगेको छ । कर सङ्कलनलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्दै लगेको कारण कर सङ्कलनमा लागत घटेको आन्तरिक राजस्व विभागले जनाएको छ । विभागका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा प्रतिहजार कर सङ्कलन लागत चार रुपैयाँ २१ पैसा रहेकोमा आर्थिक वर्ष २०७६/०७७ मा घटेर प्रतिहजार कर सङ्कलन लागत तीन रुपैयाँ ६२ पैसामा झरेको छ । यसलाई पनि अझै घटाउने लक्ष्य रहेको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार