दुधकोसी जलविद्युत आयोजनाको प्रशारण लाइनको प्रारम्भिक वातावरणीय परीक्षण सुरु

  हिमाल समाचार  793 पटक हेरिएको

सोलुखुम्बु – ६३५ मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको प्रशारणलाइनको प्रारम्भिक वातावरणीय परीक्षण (आइई)को काम सुरु गरिएको छ ।

खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने जलविद्युत आयोजनाको ४०० केभी डबल सर्किट प्रशारण लाइनको आइईको काम सुरु गरिएको हो ।

दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको आयोजनास्थलदेखि धनुषाको ढल्केबरसम्मको करिब १०२ किलोमिटर दुरीमा डबल सर्किट प्रशारण लाईनको प्रारम्भिक वातावरणीय परीक्षणको काम सुरु गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

आयोजनास्थल ओखलढुंगाको भदौरेदेखि धितुङ–जयराम–हिलेपानी–घुर्मी–कटारी–सिन्धुली हुँदै ढल्केबर जोड्ने प्रशारणलाइनले विच बाटोमा हुने भौतिक, सामाजिक, आर्थिक, वातावरणीय लगायतका क्षेत्रमा पुग्ने अशर र प्रभावका बारेमा अध्ययन सुरु गरिएको प्रारम्भिक वातावरणीय परीक्षण (आइई)का फिल्ड कोअर्डिनेटर नितेश खड्काले बताए ।

दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनालाई ४ सय केभी डबल सर्किट प्रशारण लाइनबाट दुधकोसी स्वीच यार्डदेखि सुनकोसी स्वीच यार्ड हुँदै ढल्केबर स्टेशनमा जोड्ने तयारी छ ।

प्रत्यक्ष प्रभावित क्षेत्र मानिने टावर र तारको दायाँ–वायाँ २३/२३ मिटर तथा अप्रत्यक्ष प्रभावित क्षेत्र मानिने दायाँ–वायाँ ५/५ सय मिटर क्षेत्रमा भएका घर, वस्ती, खेतीयोग्य जमिन, वनजंगल, पहिरो लगायतको अवस्था तथा तिनलाई पर्ने अशरका बारेमा ‘स्याम्पल सर्भे’ सुरु गरिएको हो ।

कात्तिक २३ गतेदेखि तालिम दिइएका १० जना स्थानीय सर्भेक्षणकर्तालाई तिहारपछि आइईको सर्भेक्षणका काममा खटाइएको फिल्ड कोअर्डिनेटर खड्काले बताए ।

करिब ६ महिनाभित्र पुरा गर्नेगरी इटालीको इएलसी इलेक्ट्रोकन्सल्टले आयोजनाको सर्किट प्रशारण लाइनको आइईको काम थालेको हो । आइईको प्रारम्भिक रिपोर्टकै आधारमा प्रत्यक्ष प्रभावित तथा अप्रत्यक्ष प्रभावित क्षेत्रमा मुआव्जादेखि पुःर्नवासको काम हुने छन् ।

‘सर्किट प्रशारण लाइनको रुटमा कस्तो वस्ती छ, क–कसको कस्ता खालका जग्गा छन्, रुटमा पहिरो छन् कि, वनजंगल पर्छ कि, कस्ता खालका वन छन्, कसैको करेसा बारी वा बगैंचा पर्छ कि भनेर स्याम्पल लिने काम भइरहेको छ,’ फिल्ड कोअर्डिनेटर खड्काले भने, ‘यसबाट प्रशारण लाइनको रुटमा पर्ने टावर र तारको आसपासमा के–के पर्छ, भौतिक रुपमा के–के छन्, केलाई कस्तो अशर पुग्छ, कति क्षती हुन्छ, फिजिकल, बायोलोजीकल, सोसल इन्भाइरोन्मेन्ट कस्तो छ, इकोनोमिकल स्टाटस केछ भन्ने जानकारी लिन सकिन्छ ।’

आइईको काम सुरु गर्नका लागि इएलसी इलेक्ट्रोकन्सल्टका टोली प्रमुख अजय माथेमा, एडिविका इन्भाइरोन्मेन्ट एक्सपर्ट कन्सल्टेन्ट रेशम बानियाँ, सोसल एक्सपर्ट कन्सल्टेन्ट बमबहादुर थापा, आइईका फिल्ड कोअर्डिनेटर खड्का, स्टडि टिम मेम्बर सुभुती घिमिरे लगायतको टोली आयोजनस्थल आएका थिए ।

लामीडाँडाको रँभुवाबजारमा २०० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३.३० किलोमिटर हेडरेस सुरुङमार्फत धितुङमा पानी खसाएर विद्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको काम अघि बढिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार