खोटाङ : राम्चेका ५२ घरमा पिउनेपानीको पहुँच

  हिमाल समाचार
301 Shares

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित राम्चेका ५२ घरमा जडान गरिएको खानेपानीको धारा सञ्चालनमा ल्याइएको छ । क्रिश्चियन एड नेपालको २५ लाख र नगरपालिकाको आठ लाख गरी ३३ लाखको लागतमा राम्चेका प्रत्येक घरमा खानेपानीको धारा जडान गरिएको हो ।

क्रिश्चियन एड नेपाल र नगरपालिकाको आर्थिक सहयोग तथा बालसेवा समाज नेपाल नेर्पाको प्राविधिक सहयोगमा करीब डेढ किलोमिटर टाढा पर्ने पात्लेखोला मुहानबाट ल्याइएको खानेपानी आयोजना बिहीबार प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरेका हुन् ।

करीब छ महिनामा निर्माण सम्पन्न गरिएको खानेपानी आयोजनामार्फत घरघरमा धारा जडान भएपछि उपभोक्ता हर्षित भएका छन् । वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका राम्चेका स्थानीय उपभोक्ता नगरपालिका र क्रिश्चियन एडको आर्थिक सहयोगमा सञ्चालित खानेपानी आयोजनामार्फत आ–आफ्नो घरमा खानेपानीको धारा वितरण भएपछि हर्षित भएका हुन् ।

खानेपानी आयोजना उद्घाटन कार्यक्रममा नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेवी राई, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । बुइपास्थित राम्चेमा आयोजना गरिएको उद्घाटन कार्यक्रममा स्थानीय कलाकारले साँगीतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए ।

क्रिश्चियन एडले राम्चेका ४६ घर उपभोक्तालाई पानी जम्मा गर्ने हिलट्याङ्की पनि वितरण गरेको छ । राम्चेका स्थानीय बासिन्दालाई तरकारी बालीमा अग्रसर गराउने उद्देश्यले प्रतिघर परिवारलाई पाँचसय लिटरको हिलटेक वितरण गरेको हो ।

यस्तै, क्रिश्चियन एड नेपालकै लगानीमा बुइपास्थित पञ्चदोबाटोमा निर्माण गरिएको कृषि उपज सङ्कलन केन्द्रको पनि उद्घाटन गरिएको छ । बालसेवा समाज नेपालको सहजीकरण तथा क्रिश्चियन एडको दश लाख आर्थिक लगानीमा निर्माण गरिएको कृषि उपज सङ्कलन केन्द्रको उद्घाटन गरिएको हो ।

कृषि उपज सङ्कलन केन्द्र उद्घाटन कार्यक्रममा कृषकलाई इलेक्ट्रिक ह्याम्बर, हजारी, विषादी स्प्रयर, राडीपाखी व्यवासयको लागि कोरासो र क्यारेटसमेत वितरण गरिएको परियोजनाका प्रबन्धक युवराज रिजालले बताए । सङ्कलन केन्द्र सञ्चालन भएपछि बिचौलिया अन्य हुने तथा कृषकले उत्पादन गरेका कृषि उपज बाह्य बजारमा बिक्रीका लागि पठाउन सहज भएको छ ।

कार्यक्रममा उक्त वडाका सबैभन्दा बिपन्न परिवारमा पर्ने तुलासिं राईलाई पचास हजार बराबरको जस्तापाता प्रदान गरिएको जनाइएको छ । बाख्रा पालन व्यवासाय सञ्चालन गर्न खोर निर्माण गर्ने गरी तुलासिंलाई जस्तापाता प्रदान गरिएको वडाध्यक्ष दिनेश राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार