दिक्तेल रुपाकोट : फोहोरलाई मल बनाउने तयारी

  हिमाल समाचार
168 Shares

खोटाङ – अर्गानिक नगरको परिकल्पना सहित अघि बढेको खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिले घरघरबाट निस्कने कुहिने फोहोरलाई मलमा परिणत गर्ने तयारी गरेको छ ।

दिक्तेल बजारका घरबाट निस्कने कुहिने फोहोरलाई दिक्तेल रुपाकोट २ सोल्मामा स्थापना गरिएको कम्पोष्ट प्लाष्टमा लगेर मल बनाउने तयारी थालेको हो ।

घरबाट निस्कने सागसब्जी, घाँसपात, फलफूल, खानेकुरा, कसिङ्गर जस्ता कुहिने फोहोरमैलालाई अलग–अलग राख्ने तथा हरेक आइतबार र विहिबार ढुवानी गरेर कम्पोष्ट मल प्लान्टमा लैजाने व्यवस्थाको तयारी पूरा भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिप नारायण रिजालले बताए ।

सोल्मामा कम्पोष्ट प्लाष्ट निर्माण सम्पन्न भएको केही समयपछि नगरपालिकाले फोहोरमैलालाई स्रोतबाटै वर्गीकरण गर्ने र कुहिने खालका फोहोरलाई कम्पोष्ट मल प्लाष्टमा लैजाने व्यवस्था गरेको हो ।

घरबाट सकेसम्म फोहोरमैला कम निकाल्ने र निस्किएका फोहोरलाई कुहिने, नकुहिने र शिशाजन्य फोहोरमा वर्गीकरण गरेर घरैमा राख्ने, बजारबाट निस्केको दिशाजन्य फोहोरलाई सोल्माकै बायोग्यास प्लान्टमा लैजाने निर्णय गरिएको मेयर रिजालको भनाई छ ।

यस्तै, बजारमा राखिएका डस्विनमा पैदल यात्रीबाट निस्केको फोहोर मात्र राख्ने, टोल विकास समितिले फोहोरमैला तथा सरसफाइ व्यवस्थापनसम्बन्धी जनचेतना जगाउने, सबैले सरसफाइ तथा फोहोरमैला व्यवस्थापनलाई एजेन्डाकै रूपमा प्रस्तुत गर्ने लगायतका निर्णय भएको नगरपालिकाले जनाएको छ ।

दिक्तेल बजारका नकुहिने फोहोरमैलालाई भने नगरपालिकाले संकलन गरेर डम्पिङसाइटमा लगेर थन्काउँदै आएको छ ।

शुक्रबार सम्पन्न स्रोतबाटै फोहोरको वर्गीकरण सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रमका निष्कर्षहरु :

१, सागसब्जी, घाँंसपात, फलफूल, खानेकुरा जस्ता घरबाट निस्किएका फोहोर बेग्लै राख्ने र उक्त फोहोर आइतबार र बिहिवार ढुवानी गरेर कम्पोस्ट प्लान्टमा लैजाने ।

२, सकेसम्म फोहोर कम निकाल्ने र निस्किएका फोहोरहरुलाई कुहिने, नकुहिने र सिसाजन्य फोहोर गरि घरमै वर्गीकरण गरेर राख्ने ।

३, बजारमा राखिएका डस्विनमा बाटोमा हिड्ने मानिसहरुबाट निस्केको फोहोर मात्र राख्ने ।

४, बजारबाट निस्केको दिशाजन्य फोहर कम्पोस्ट प्लान्टमा लैजाने ।

४, राजनीतिक दल तथा नेता, समाजसेवी, शिक्षक, संघसंस्थाहरुले सरसफाइ तथा फोहोरमैला ब्यवस्थापनलाई एजेन्डाकै रूपमा प्रस्तुत गर्ने ।

५, नगरपालिकाले फोहोरमैला तथा सरसफाई सम्बन्धि आवश्यक निति नियम बनाउने र कार्यान्वयन गर्ने ।

६, टोल विकास समितिले फोहोरमैला तथा सरसफाई व्यबस्थापन सम्बन्धि जनचेतना जगाउने ।

७, बिद्यालयहरुले स्रोतबाटै वर्गीकरण गरि फोहोरमैला ब्यबस्थापन गर्ने कुराको सिकाइ गरि बिद्यार्थी मार्फत अभिभावकहरु सम्म पु¥याउने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार