माप्य दुधकोशीमा १५ बेडको प्राथमिक अस्पताल

फाप्लु धाउनुपर्ने बाध्यता हट्यो

  हिमाल समाचार
735 Shares

सोलखुुम्बु – सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा १५ बेडको प्राथमिक अस्पताल स्थापना गरिएको छ । बासा स्थित तत्कालिन ईलाका स्वास्थ्य चौकीलाई स्तरोन्नती गरि तयार पारिएको १५ बेडको अस्पतालको आज उद्घाटन गरिएको छ ।

कार्यक्रममा प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीले विकासले फड्को मारेको दाबी गरे । माप्य दुधकोशीमा प्राथमिक अस्पताल स्थापना हुनुले पनि नागरिकलाई विकासको अनुभूती गराउने प्रदेश सभा सदस्य राजभण्डारीको भनाई थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले गाउँपालिकाका नागरिक स्वास्थ्य सेवाबाट बञ्चित हुनुपर्ने अवस्था हटेको बताए । सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पु¥याउने योजना अनुसार अस्पताल सञ्चालनमा ल्याईएको उनको भनाई छ ।

अध्यक्ष राईले गाउँपालिकाले भौतिक पुर्वाधार विकास सँगै स्वास्थ्यलाई पनि प्राथमिकता दिएको बताए । सामान्य उपचारका लागि पनि लाखौ रुपैँया खर्च गरि जिल्ला अस्पताल फाप्लु तथा बाहिरी जिल्ला जानुपर्ने बाध्यता हटेको उनको दाबी छ ।

गाउँपालिका उपाध्यक्ष जुनिता मगरले गाउँपालिकामा नै अस्पताल सञ्चालनमा आएपनि नागरिकले उपचार अभावमा ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्य भएको बताईन् । अस्पतालसम्म पुग्नका लागि सडकको काम पनि भइरहेको उनको भनाई छ । अस्पतालबाट २४ सै घण्टा प्रसुती लगायतका सेवा प्रवाह हुने गाउँपालिकाले जनाएको छ ।

अस्पतालमा आँखाको समेत उपचार गरिने छ । अस्पतालमा एमबिबिएस एक डाक्टर सहितका स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ ।

अस्पताल उद्घाटनमा नेकपा जिल्ला अध्यक्ष मानवीर राई, नेकपाका गाउँपालिका कमिटी अध्यक्ष गौरब राई लगायत स्थानीयको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार