काठमाण्डौँ – केशव गिरीको ‘बालो जोवन’गीतको छायांकन सकिएको छ । सुदुरपश्चिम क्षेत्रको लबजमा तयार पारिएको गीतको आइतबार काठमाण्डौको धर्मस्थली क्षेत्रमा छायांकन गरिएको हो ।
सोझो गाउँलेको गीत, विष्णु भट्टको संगीतमा तयार भएको गीतमा अनु चौधरी र विष्णु भट्टको स्वर सुन्न सकिन्छ । ‘बालो जोवन’गीतको भिडियोमा ४ नयाँ कलाकारले मोडलिङ गरेका छन् । यद्यपी, निर्देशक भने पुराना छन् ।
सांस्कृतिक नृत्यमा माहिर मानिएका याम गुरुङले निर्देशन गरेको भिडियोमा राजु गिरी, जीवन थापा, रक्षा थापा र प्रतिभा ‘रानी’राईले मोडलिङ गरेका छन् । ‘रानी’मिस टिन–२०१९ को विजेता हुन् भने रक्षा रसियामा आयोजित पिन्सेस अफ दी यूनिभर्स – २०१७ की विजेता हुन् । केही महिनाअघि रक्षा अभिनित गीत ‘धेरै पछि’सार्वजनिक भएको थियो । भिडियोलाई महेश महराले खिचेका छन् ।
गीतका प्रस्तुतकर्ता केशव गिरीले भेगीय फ्यूजन गीतमा नयाँ र पुराना कलाकारसंग काम गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘अनुभवी निर्देशकको नेतृत्वमा नयाँ कलाकारलाई मोडलिङ गराइएको छ । संभावना र अवसरको मिश्रणले राम्रो नतिजा ल्याउछ भन्नेमा आशावादी छु ।’
निर्देशक याम गुरुङ सुदुरपश्चिमको लवजमा बनेको गीतमा पहिलो पटक काम गर्ने अवसर पाएकोमा खुसी छन् । ‘धेरैजसो मौलिक गीतमा नाच्ने र निर्देशन गरेको मैले आज सुदुर क्षेत्रको आधुनिक गीतको निर्देशन नौलो छ । तर, सकेसम्म राम्रो गर्ने कोशिस गरिरहेको छु ।’ उनले भने ।
गीतकार सोझो गाउँलेका अनुसार देउडाको मिटरमा लेखिएको गीतलाई संगीत भर्दा व्यवसायीकतालाई पनि ध्यान दिइएको हो । उनले भने, ‘सुदुर क्षेत्रका कान्छा पुस्ताले मन पराउछन् भन्ने आशा छ । अडियो राम्रो बनेको प्रतिक्रिया पाएकाले भिडियो पनि राम्रो बन्ला । काम गर्दैछौ ।’
भिडियोको पोष्ट प्रोडक्सनको काम सकेर यथासिघ्र डिजिटल बजारमा सार्वजनिक तयारी रहेको निर्माण टिमले जनाएको छ ।