खोटाङ – खोटाङको बराहपोखरी गाउँपालिकाले धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर–टहरा हटाउनका लागि अन्तिम पल्ट समय दिएको छ ।
बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा रहेको शंखेश्वर मन्दिरको गुठी र आसपासको सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर–टहरा हटाउनका लागि तीन पल्ट दिइएको समयलाई स्थानीयले बेवास्ता गरेपछि गाउँपालिका यसप्रति आक्रामक बनेको हो ।
गत मंसिर १८ गतेको गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुशार १० दिनको अवघि दिएर २७ व्यक्तिको नामावली सहित अन्तिम पटक सूचना जारी गरिएको गाउँपालिकाले जनाएको छ ।
बराहपोखरीका सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेका व्यक्तिलाई घर–टहरा हटाउन २०७५ साल असोज ८ गते, २०७५ साल चैत ४ गते र २०७६ साल मंरि ३० गते सूचना प्रकाशन गरी अनुरोध गरिए पनि अटेर गरिएकाले घर–टहरा हटाउन अन्तिम पटक सूचना प्रकाशन गरिएको गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले बताए ।
नेपाल सरकारको सय वटा गन्तव्यको सूचीमा समावेश बराहपोखरीको जग्गा अतिक्रमण गरेर बसिरहेका भुवन श्रेष्ठ, ढकबहादुर कार्की, तोर्णबहादुर कार्की, शिव श्रेष्ठ, कर्णकुमार श्रेष्ठ, खगेन्द्र राई, भीमबहादुर तामाङ, हर्कबहादुर तामाङ, भरत तामाङ, अर्जुन तामाङ, रामजी फुयाल, तिलकबहादुर मगर, गंगा विक, डिल्ली गिरी, महेन्द्र विष्ट, केदार राई, तिर्था तामाङ, गोकर्ण राई, डम्बरहादुर राई, पदम राई, धुर्व गिरी, धनबहादुर राई, गणेशबहादुर राई, रामबहादुर राई, मदन राई, हिमाल राई र हरिहर खत्रीको नाममा गाउँपालिकाले सूचना जारी गरेको छ ।
सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरा तोकिएको समयभित्र नहटाइए स्थानीय प्रशासनको साथ लिएर बल प्रयोग गरेर हटाइने गाउँपालिकाको सूचनामा उल्लेख छ ।