सोलुमा ८.२८ हेक्टर जमिनमा कबुलियती बन

  हिमाल समाचार
189 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा कबुलियती बन क्षेत्र बढ्दै गएको छ । गरिब समुदायले लाभ लिने कबुलियती बन जिल्लामा ६ पुगेको डिभिजन बन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्राकृतिक सम्पदाको व्यवस्थापन, उत्पादकत्वमा वृद्धि र रोजगारी सृजना गरि गरिब जनताको आर्थिक स्तर बृद्धिका लागि आर्थिक वर्ष २०७५–७६ बाट सुरु गरिएको कार्यक्रममा जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा मात्रै ६ समुहले कबुलियती बन दर्ता गराएका छन् ।

थुलुङ दुधकोशी गाउँपालिका १ देविस्थानको १ दशमलव ७० हेक्टर जमिनमा फैलिएको कबुलियती बनमा ५३ जना आबद्ध छन् । सोही स्थानमा कुर्लुङ कार्तिक कबुलियती बन दर्ता भएको छ । २ दशमलव ११ हेक्टर जमिनमा फैलिएको बन समूहमा ७१ जना समाबेश छन् ।

डिभिजन बन कार्यालय सोलखुुम्बुका सहायक बन अधिकृत खेचरबाबु बास्तोलाका अनुसार थुलुङ दुधकोशी गाउँपालिका १ मा जल महादेव कबुलियती बन दर्ता गरिएको छ । ७४ जनाको समुहले १ दशमलव ०२ हेक्टर क्षेत्रफलमा फैलिएको जंगललाई कबुलियती बनको स्वरुप दिएका हुन् ।

थुलुङ दुधकोशी गाउँपालिका २ मा रहेको सेती देवी कबुलियती बन १ दशमलव ०२ हेक्टरमा फैलिएको छ । उक्त बनमा ६७ जना गरिब परिवारका उपभोक्ता समाबेश छन् । त्यस्तै, १ दशमलव ०६ हेक्टर क्षेत्रफल रहेको कालिका देवी कबुलियती बन थुलुङ दुधकोशी गाउँपालिका ३ मा अवस्थित छ । जहाँ ८७ जनाको समूह बनेको छ । थुलुङ दुधकोशी गाउँपालिका ४ मा १ दशमलव ३८ हेक्टर जमिनमा फौलिएको कबुलियती बनमा ७८ जना सामेल छन् ।

हरेक आर्थिक वर्षमा ३ वटा कबुलियती बन स्वीकृत गर्दै आएको डिभिजन बन कार्यालय सोलुखुम्बुले जनाएको छ । कबुलियती बनमा आबद्ध उपभोक्ताहरुले सम्बन्धित कार्यविधि अनुसार उपभोग गर्न पाउने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार