सरकार विरुद्ध कांग्रेस सोलुको प्रदर्शन

  हिमाल समाचार
336 Shares

सोलुखुम्बु – नेपाली कांग्रेस सोलुखुम्बुले पनि सरकार विरुद्ध प्रदर्शन गरेको छ । पुल उद्घाटन गर्न जाँदा तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुव्र्यवहार भएको घटनापछि पदाधिकारी र पूर्वपदाधिकारी बैठकले देशभर एकैसाथ एउटै नाराका साथ आज प्रर्दशन गर्ने निर्णय अनुसार सोलुखुम्बुमा पनि कांग्रेसले प्रदर्शन गरेको हो ।

पार्टी कार्यालय बसन्त बजारबाट निस्किएको कांग्रेस नेता कार्यकर्ताको टोलीले नयाँ बजार पुगेर आवाडाँडा हुदै जिल्ला प्रशासनसम्म नाराबाजी गर्दे प्रर्दशन गरेका थिए । कोण सभामा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री वल बहादुर केसीले नेकपा सरकारले सर्वसत्तावादी चरित्र देखाएको, स्थानीय सरकारमा भ्रष्टाचार बढेको र प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागि परेको आरोप लगाए ।

उनले नेकपा नेतृत्वको सरकारले कोरोना नियन्त्रण र न्यूनिकरणलाई वेवास्ता गरेको र जनताको स्वास्थ्य सुरक्षामाथि खेलबाड गरेको आरोप लगाए । महिला हिंसा तथा बलात्कारका घटना पनि यहि सरकारको पालामा बढेको नेता केसीको भनाई छ । कांग्रेस नेता केसीले जिल्लाका विकासमा नेपाली काँग्रेसले भुमिका खेलेको चर्चा गरे ।

नेपाली कांग्रेस सोलुखुम्बुका सभापति विनोद बस्नेतले सरकारले जनतालाई झुक्याएको बताए । विकासका नाममा नागरिकलाई भ्रमित बनाउने कोसिस गरेको उनले बताए ।

सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जांबु शेर्पाले नेकपा सरकारले अपराधीलाई संरक्षण गरेको बताए । उनले नेकपाले जनताले दिएको मत दुरुपयोग गरेको आरोप लगाए ।

कांग्रेस नेता प्रकाश सिहं कार्कीले वितेको ३ वर्षमा नेकपा नेतृत्व तीनै तहको सरकार भ्रष्टाचारमा लिप्त बनेको आरोप लगाए । कम्युनिष्ट सरकारको पालामा आपराधिक कृयाकलाप बढेको समेत उनले बताए ।

नेता आङ छिरिङ शेर्पाले नेपाली काँग्रेसले मात्रै लोकतन्त्र संरक्षण गर्न सक्ने बताए । सरकार विरुद्ध आयोजित कार्यक्रममा सयौँको संख्यामा काँग्रेसका नेता, कार्यकर्ता सहभागी बनेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार