काँगेल विमानस्थलमा सफल परीक्षण उडान

  हिमाल समाचार
385 Shares

सोलुखुम्बु – ६ बर्षदेखि बन्द रहेको सोलुखुम्बुको काँगेल विमानस्थलमा आज सफल परीक्षण उडान गरिएको छ । नेपाल वायु सेवा निगम र थुलुङ दुधकोशी गाउँपालिका बिच भएको सहमति अनुसार आज काँगेल विमानस्थलमा जहाज अवतरण गरिएको हो ।

क्याप्टेन पेम्बा शेर्पाको नेतृत्वमा नेपाल एयरलायन्सको नाइन एन–ए.बि.यु कल साईनको जहाजले नागरिक उड्ययन प्राधिकरण र वायु सेवा निगमका ११ जना यात्रु लिएर अवतरण गरिएको गाउँपालिकाका प्रवक्ता भूपालसिं राईले जानकारी दिए ।

गत बिहिबार नै परिक्षण उडान गर्ने भनिएपनि आज विहान ९ बजे परीक्षण उडान गरिएको हो । ६ बर्ष देखि बन्द रहेर गौचरनमा परिणत भएको विमानस्थल स्थानीय, प्रदेश र केन्द्रिय सरकारको विशेष पहलबाट संचालनमा ल्याउन सफल भएको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

उनले भने, ‘नेपाल एयरलाइनसँगको विशेष सम्झौता पश्चात नियमित सन्चालन गरि स्थानीयहरुको सहजता सँगै आन्तरिक र बाहय पर्यटन बढाई आयआर्जनमा वृद्धि गर्न गराउन प्राविधिक सहितको टोलीले आज परीक्षण उडान भर्न सफल भएको छ ।’

गाउँपालिकाले नियमित उडानको लागि निगमको खातामा १० लाख रकम धरौटी राख्नु पर्नेछ भने नियमित उडानमा आतेजाते गरि १६ यात्रु नभएमा अपुग सिट संख्याको भाडा भने सोही रकमबाट निगमले कट्टा गर्दै लाने सहमति भएको थियो ।

विमानस्थल सञ्चालमना आएसँगै सोलु र खोटाङका जनताले हवाई सेवा लिने र विरामी तथा अप्ठ्यारोमा परेका नागरिकहरुलाई सहज हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार