सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ सीप विकास तालिम सुरु भएको छ ।
लामो समयदेखि निजि क्षेत्रबाट शैक्षिक क्षेत्रमा महत्वपुर्ण योगदान दिदै आएको रीड नेपालको आयोजना, सोलुदुधकुण्ड नगरपालिकाको समन्वयमा, अष्ट्रेलियन हिमालयन फाउण्डेसन र अस्ट्रेलियन एडको आर्थिक सहयोगमा अगुवा स्रोत केन्द्र सल्लेरीमा ५ दिने तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै सोलुदुधकुण्ड नगरपालिकाका शिक्षा शाखाका सुपरिवेक्षक गोपालराज भुजेलले यो तालिम निकै महत्वपुर्ण भएकोले सक्रियता पूर्वक सहभागी भएर सिक्न आग्रह गर्दै तालिमबाट सिकेका कुरालाई कक्षा कोठामा समेत प्रयोग गर्न सहभागीलाई आग्रह गरे ।
रीड नेपाल सोलुखुम्बुका शिक्षा विकास संयोजक केशव देव गिरीले प्रारम्भिक कक्षाका बालबालिकालाई पठन सीपको विकास गराउने उद्देश्यले यो तालिम सञ्चालन गरिएको बताए ।
बालबालिको सिकाइ उपलब्धि विकास गराउनका लागि पढाइसीप नै मुख्य हुने विभिन्न अनुसन्धानले प्रमाणित गरिसकेको अवस्थामा यो कार्यक्रम निकै महत्वपुर्ण हुने विश्वास व्यक्त गरे । उनले भने, “छापामा रहेका अक्षरलाई आखाले हेरेर दिमागले ग्रहण गरेपछि बुझेर अभिव्यक्त गर्न सक्नु नै पढाइ भएकोले आधारभूत तहका बालबालिकाको सिकाइ उपलब्धी वृद्धि गराउन पढाइ सीप विकास गराउनु आवश्यक रहेकोले यो तालिमको आयोजना गरिएको हो ।”
मंगलबार बाट सुरु भएको तालिम पुष ११ गते सम्म सञ्चालन हुने छ । तालिममा सोलुदुधकुण्ड नगरपालिकाका १२ वटा विद्यालय, थुलुङ दुधकोशीका ३ वटा विद्यालय र लिखुपिके गाउँपाकिाका १ वटा विद्यालयका ३३ जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको छ । कार्यक्रमको सहजीकरण रीड नेपालका शिक्षा विकास संयोजकगिरी र जनजागृति आधारभूत विद्यालयकि शिक्षिका केशरी श्रेष्ठले गरिरहेका छन् ।