सोलुखुम्बुमा दुई वटा कर्मचारी आवास गृह प्रयोग विहीन

  दिपेन्द्र पराजुली
560 Shares


सोलुखुम्बु –
सोलुखुम्बुमा निर्माण भएका दुई कर्मचारी आवास गृह प्रयोग विहीन बनेका छन् । जिल्लामा करिब ३ वर्ष अघि निर्माण सम्पन्न भएको सल्लेरी स्थित जेरोपोएन्ट नजिकैको २ तले आरसिसि भवन र डेढवर्ष अघि निर्माण सम्पन्न भएको थापागाउँमा निर्माण गरिएको कर्मचारी आवास गृह प्रयोग विहीन बनेको हो ।

सल्लेरी स्थित तत्कालिन जिल्ला आयुर्वेद कार्यालय नजिकै निजामति कर्मचारीको आवासका लागि निर्माण गरिएको सुविधा सम्पन्न २ तले कर्मचारी आवास गृह प्रयोग विहीन अवस्थामा रहेको छ । ७८ लाखको लागतमा निर्माण गरिएको आवासगृह शहरी विकास तथा भवन कार्यालय ओखलढुङ्गा मातहतमा रहेको भएपनि हालसम्म प्रयोगमा नआएको हो ।

भवन सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयलाई बुझाएको भएपनि हालसम्म प्रयोगमा नआएपछि शहरी विकास तथा भवन कार्यालय ओखलढुङ्गाको शाखा खोल्ने तयारी गरिएको भवन शहरी विकास तथा भवन कार्यालय ओखलढुङ्गाका सुचना अधिकारी अनुज श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, सल्लेरीको थापा गाउँमा एक वर्षअघि १ करोड ९८ लाखको लागतमा निर्माण गरिएको भवन प्रयोग विहीन अवस्थामा रहेको छ । सोलुदुधकुण्ड नगरपालिकालाई कोरोना महामारीको समयमा क्वारेन्टीनका लागि दिईएको भएपनि निर्माण सम्पन्न भएको एक वर्ष बितिसक्दा २ तले २४ कोठा रहेको कर्मचारी आवास गृह सञ्चालनमा नरहेको पाईएको हो ।

यो निर्माण कम्पनिबाट भवन शहरी विकास तथा भवन कार्यालय ओखलढुंगाले जिम्मा लिएको भएपनि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुलाई हस्तान्तरण गर्न बाँकि रहेको छ । निर्माण गरिएको कर्मचारी आवास गृह जिल्ला प्रशासन कार्यालयलाई जिम्मा नदिँदा सञ्चालनका लागि समस्या भएको छ ।

तत्कालीन जिल्ला आयुर्वेद केन्द्र नजिकै निर्माण भएको भवन शहरी विकास तथा भवन कार्यालय ओखलढुङ्गाले जिल्ला प्रशासनलाई बुझाएको दाबी गरेपनि जिल्ला प्रशासनले भने लिईनसकेको प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले बताए । दुवै भवन सञ्चालनका लागि अनुमति भने माग गरिएको प्रजिअ शाहीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार