सोलुखुम्बु – नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री बलबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका असंवैधानिक कदम विरुद्ध सडकमा ओर्लनुपरेको बताए ।
सोलुखुम्बुको सल्लेरीमा विरोध ¥याली पश्चात परिणत कोणसभामा बोल्दै नेता केसीले नेकपा सरकारले जनताको मतको दुरुपयोग गर्दै संविधानको हत्या गरेको आरोप लगाए । गणतान्त्रिक संविधान बचाउनका लागि आन्दोलन गर्न बाध्य भएको उनले बताए ।
नेपाली काँग्रेसका जिल्ला सभापति बिनोद बस्नेतले काँग्रेस जुनसुकै समयमा पनि जनताका साथमा रहेको बताए । प्रतिनिधि सभा विघटनका विषयमा सर्बोच्चको सुनुवाई पर्खिराखेको उनले बताए । काँग्रेसका नेता प्रकाश सिंह कार्कीले नेकपा नेताहरु सत्ताको खेलमा लागेर संविधानलाई अपहेलना गरेको आरोप लगाए । धरापमा परेको संविधान संरक्षणका लागि काँग्रेस सडकमा आएको नेता कार्कीले बताए ।
अर्का नेता आङ छिरिङ शेर्पाले नेपाली काँग्रेसले मात्रै लोकतन्त्र संरक्षण गर्न सक्ने बताए । कार्यक्रममा महासमिति सदस्य खिलाराज बस्नेत लगायतका नेपाली काँगेसका अधिकांश वक्ताहरुले प्रधानमन्त्रीको असंवैधानिक कदमले हालसम्म प्राप्त उपलव्धी गुम्ने खतरा बढेको बताए । विरोध कार्यक्रममा नेकपा परित्याग गरि ३ जना कांग्रेस प्रवेश गरेका छन् ।