सोलुखुम्बु – खोटाङको ऐसेलुखर्कका विभिन्न स्थानमा अझै सञ्चारको पहूँच पुग्न सकेको छैन । ऐसेलुखर्क गाउँपालिकाको माक्पा, बादेल, बाकाचोल, राखाबाङदेल लगायतका स्थानमा हालसम्म सञ्चार सञ्चारको पहूँच नपुगेको हो ।
सो क्षेत्रका नागरिक अझै सञ्चारको पहूँचमा नरहेको ऐसेलुखर्क गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए । झुलेडाडाँ र रुकुपाईमा टावर निर्माणका लागि २ वर्ष अघि नै स्वीकृति पाएपनि हालसम्म काम अघि बढ्न नसकेको गाउँपालिका अध्यक्ष निरौलाले गुनासो गरे ।
टेलीकमले काममा तदारुकता नदेखाउँदा नागरिक सञ्चार बिहिन बन्नु परेको उनको भनाई छ । टेलिकमले चुस्त तवरले सञ्चार सेवा उपलब्ध नगराउँदा गाउँपालिकाको कामकाज समेत प्रभावित हुने गरेको छ ।
यता, नेपाल टेलिकमको कार्यलय ओखलढुंगाले भने दुबेकोलमा टावर निमार्ण भईसकेको र अहिले विद्युतीकरणको काम भईरहेको, रुकुपाईमा टावर निर्माणका लागि फाउण्डेशनको काम सकिएको जनाएको छ ।
टेलिकम कार्यालय ओखलढुंगाका प्रमुख दिनेश चन्द्र पन्थीले टावरको सर्वे भएका स्थानमा चाडै काम सुरु गरिने बताए ।