काठमाडौँ- राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन्। राष्ट्रियसभा सांसद बिडारीले संविधानले कल्पना समेत नगरेको अधिकार प्रधानमन्त्री कहाँबाट प्रयोग गरे भन्दै प्रश्न गरेका हुन्।
बिडारीले छदा खाँदाको बहुमतसहितको प्रतिनिधिसभा विघटन गरेर ओलीले ‘अपराध’ गरेको गम्भीर आरोप लगाए। उनले संविधान निर्माणका बेला मस्यौदा समितिमा भएका छलफलको रेकर्ड राष्ट्रियसभामा बजाउन माग गरे ।बिडारीले प्रधानमन्त्री ओली र तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ पनि त्यस्ता छलफलमा उपस्थित भएकाले आवाज नै सुनाउनुपर्ने जिकिर गरे।
उनले सरकारसँग नैतिकता र सदाचार नभएको कुरा अख्तियारको प्रतिवेदनमा उल्लेख भएको दाबी गरे। राज्यका हरेक क्षेत्रमा दलालीको जगजगी भएको उल्लेख गर्दै उनले २०४७ सालको संविधान हेरेर अहिले विघटन गरेको विश्वलेषण गरे।