मिश्र र रिमालबीच ट्वीटरमा सवालजवाफ

काठमाडौं-
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले आफूलाई धम्की दिएको बताएका छन् ।

मिश्रले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “धम्की नै धम्की ! प्रधानमन्त्री ओली पूर्वप्रधानन्यायाधीश तथा अन्य आलोचकप्रति धम्कीपूर्ण भाषा प्रयोग गर्ने । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार मलाई धम्कीपूर्ण भाषा प्रयोग गर्ने । मैले तलको टिप्पणी गरेपछि उहाँले ट्विटरमा सीमामा बस्न चेतावनी दिनुभएको हो ।”

सामाजिक सञ्जाल ट्विटरमा मिश्रले गरेको ट्विटमा रिमालले कमेन्ट गरेपछि दुवैबीच सवालजवाफ चलेको हो । शनिबार साँझ मिश्रले प्रधानमन्त्रीप्रति आक्रोशित हुँदै ट्विट गरेका थिए । उनले लेखेको लेखेका थिए – ‘कस्तो समय आयो ! पूर्व प्रधानन्यायाधीशहरूले विचाराधीन मुद्दामा बोल्नु पर्ने । प्रधानमन्त्री/राष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने । काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौं जम्मा हुने । महाभ्रष्ट नेताले भ्रष्टाचारविरुद्ध र्‍याली आह्वान गर्दा हजारौं सरीक हुने । अब अति भो !’

सो ट्विटमा रिमालले जवाफ दिँदै भनेका छन्, ‘ सीमामा बस्नुस् रवीन्द्र जी ! तपाईंको यो ट्वीट टिप्पणी गर्न पनि उपयुक्त छैन । यति चाहि भनुँ– मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रिटी भए पनि त्यससँग समयले जवाफ माग्ने छ ।’

त्यसको जवाफमा रवीन्द्र मिश्रले लेख्नुभएकाे छ- ‘प्रिय विष्णु रिमाल जी, देशको प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले आमरुपमा र देशका विशिष्ट व्यक्तित्वहरूले गरिरहेको टिप्पणीलाई नै दोहोर्‍याउँदा ‘सीमामा बस्नुस्’ भनेर धम्कीपूर्ण भाषा प्रयोग गर्नु उपयुक्त हुँदैन थियो। विमती जनाउनुभएको भए भइहाल्थ्यो । सानो सुझाव मात्र ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपाभित्रका दुई समूह एक-अर्काविरूद्ध आरोप-प्रत्यारोपमा उत्रिएका छन् । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ जारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार