लोडसेडिङ हटाउन, महसुल घटाउन सल्लेरी च्याल्सालाई उपभोक्ताको दबाब

  हिमाल समाचार
224 Shares

सोलुखुम्बु – सल्लेरी च्याल्सा विद्युत कम्पनीका उपभोक्ताहरुले लोडसेडिङ हटाउन र महसुल घटाउन माग गरेका छन् ।

आज सोलुखुम्बुको सल्लेरीसहित सोलुदुधकुण्ड नगरपालिकाका विभिन्न क्षेत्रमा विद्युत वितरण गर्दै आएको च्याल्सा विद्युत कम्पनीलाई सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४, ५, ६ र ७ का वडाअध्यक्षसहित कम्पनीको कार्यालय सल्लेरी पुगेका ३ सय भन्दा बढी उपभोक्ताहरुले लोडसेडिङ अन्त्य, विद्युत महसुल, शेयर, विद्युत जोखिम लगायतका बिषयमा ध्यानाकर्षण गराएका छन् ।

४५४ जना उपभोक्ताहरुको हस्ताक्षरसहित बुझाइएको ध्यानाकर्षण पत्रमा सोलुखुम्बु जिल्ला राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको सन्दर्भमा आवश्यक व्यवस्थापन गरी तत्काल लोडसेडिङ अन्त्य गर्नु पर्ने, विद्युत महसुल घटाई नेपाल सरकारको विद्युत महसुल दर कायम गर्न माग गरिएको छ ।

यस्तै सल्लेरी च्याल्सा विद्युत कम्पनीले उपभोक्तावाट शेयर रकम संकलन गरेपनि हालसम्म शेयर प्रमाण पत्रसमेत वितरण नगरेको र हालसम्म शेयर तथा बोनसका बारेमा कुनै जानकारी उपभोक्तालाई नदिइएकोले तत्काल उपभोक्तालाई जानकारी गराई शेयर प्रमाण पत्र तथा बोनस बितरण गर्न माग गरिएको छ ।

ध्यानाकर्षण पत्रमा विद्युत विस्तारका क्रममा जथाभावी पोल गाडिनुका साथै तार टाँगिएकाले दुर्घटनाको जोखिम बढेकाले पोल र तारको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ । बजार क्षेत्र तथा जोखिमको क्षेत्रमा तार अन्डर ग्राउण्ड वा इन्सुलेसन गर्न वा अन्य सुरक्षाका उपाय अबलम्बन गर्न कम्पनीलाई माग गरिएको वडा नं ७ का वडाअध्यक्ष लालमान श्रेष्ठले बताए ।

कम्पनीको ध्यानाकर्षण गराउन सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ का अध्यक्ष मिङमार तामाङ, ६ का अध्यक्ष रामकुमार श्रेष्ठ, कम्पनीको पूर्व बोर्ड सदस्य बुद्धिनारायण श्रेष्ठसहितको टोली आईतबार कम्पनीको कार्यालय पुगेको थियो ।

ध्यानाकर्षण पत्र बुझ्दै कम्पनीका महाप्रबन्धक भोजराज तिवारीले मागहरुका बिषयमा सञ्चालक समितिमा छलफलका लागि पेश गर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार