खोटाङ – खोटाङमा नेपाल कम्यूनिष्ट पार्टी (ओली समुह) ले जिल्ला कमिटि विस्तार गरेको छ । जिल्ला समन्वय समितिको सभाहलमा आइतबार आयोजित पत्रकार सम्मेलनमा साविक नेकपाको जिल्ला सचिव रहेका रामप्रसाद दंगाललाई अध्यक्षको जिम्मेवारी दिइएको जानकारी दिएको छ ।
साविक नेकपाका जिल्ला अध्यक्ष देवान किराती नेकपा (प्रचण्ड–माधव समुह) मा लागेको अवस्थामा नेकपा (ओली समुह) ले दंगाललाई अध्यक्षको जिम्मेवारी दिएको हो ।
साविक नेकपाको १४७ सदस्यीय जिल्ला कमिटिमध्ये ७५ जना र सचिवालयका ४५ जनामध्ये २४ जना आफ्नो टिममा समेटिएको नवनिर्वाचित अध्यक्ष दंगालले दावी गरे । नेकपा (ओली समुह) ले दिपनारायण रिजाल, सुरेन्द्रकुमार राई, गृहबहादुर राई, चर्चबहादुर विश्वकर्मा र विणादेवी राईलाई कार्यालय टिमको जिम्मेवारी दिइएको जानकारी दिइएको छ ।
साविक नेकपाको १४७ सदस्यीय जिल्ला कमिटिका कुनैपनि पदाधिकारी र सदस्यलाई कारवाही र निष्काशन नगरी नेता दंगाल अध्यक्ष रहेको जिल्ला कमिटि बनाएको हो ।
पार्टीको तेश्रो पूर्ण वैठकले रिक्त रहेको पार्टी अध्यक्ष पदमा दंगाललाई सर्वसम्मतिले छनौट गरिएको जारी प्रेस विज्ञाप्तिमा भनिएको छ ।
माधव समुहका दंगालले पछिल्लो समय क्याम्प चेञ्ज गरेका हुन् । अध्यक्ष एबं प्रधानमन्त्री ओलीले पुस ४ गते विस्तार गरेको पार्टीको केन्द्रीय सदस्य पदलाई अस्वीकार गरेका दंगाल अन्ततः जिल्लामा सोही टिमको नेतृत्व गर्न अघि सरेका हुन् ।
यस्तै, संगठन विस्तार एबं सुदृढीकरणका लागि जिम्मेवारी बाँडफाँड गरिएको नवनिर्वाचित अध्यक्ष दंगालले जानकारी दिए । बैठकले केन्द्रीय सदस्य चयन भएका कर्ण घले, हरि पोखरेल, भीम राई, रमेश पौडेल, देवविक्रम राई र देवान राईलाई बधाई ज्ञापन गरेको जनाइएको छ ।
पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य एबं जिल्ला ईन्चार्ज विशाल भट्टराईले पार्टीलाई सवल र सुदृढ गर्न तथा संसद विघटनको सन्दर्भमा उत्पन्न गराइएका भ्रम चिर्न तत्काल गाउँ र टोल पुग्ने योजना बनाएको बताए । यसका लागि आवश्यकता अनुशार केन्द्र, प्रदेश र जिल्ला तहका नेतालाई आवश्यकताको आधारमा विभिन्न पालिका र वडामा खटाइएको जानकारी दिइएको छ ।
‘प्रधानमन्त्री सामु वाधा र व्यवधान खडा गरी देशको संमृद्धि, विकास र राष्ट्रिय स्वाभिमानलाई स्थापित गर्न नदिएका कारण संसद विघटन स्वीकार गर्नुपर्ने अवस्था आएको हो,’ भट्टराईले भने, ‘जसरी पनि सत्ता हत्याउने हत्कण्डा गरियो । यसर्थ अव ताजा जनादेशका लागि नयाँ निर्वाचनको वातावरण निर्माण गर्न अग्रसर बन्नुपर्ने अवस्था आएको हो ।’